धरान(सुनसरी), ७ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको निधन भएको छ।
अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभएको छ।
सिकिस्त अवस्थामा अस्पताल ल्याइएका ती वृद्धलाई सुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो। उनको पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि मंगलबार आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो।
बिरामीमा रुघाखोकी र ज्वरो थियो। प्रवक्ता डा. सापकोटाले उहाँको अवस्था गम्भीर रहेको र पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेकामा मंगलबार नै निधन भएको बताउनुभयो ।
प्रवक्ता डा. सापकोटाका अनुसार मंगलबार साँझ नै मृतकको शवलाई महोत्तरी पठाइसकिएको छ। ‘आर्मीसगँ समन्वय गरेर शव व्यवस्थापन गर्ने भन्ने थियो,’उहाँले भन्नुभयो।
यसअघि पनि सप्तरीको राजविराज निवासी एक वृद्धको पनि वीपीमा उपचारको क्रममा निधन भएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ४१ जनाको निधन भएको छ।


















