Prakash Adhikari July 29, 2020

 

खलंगा(दार्चुला), १४ साउन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको भारतको धारचुलाका उपजिल्लाधिकारीलाई एक पत्र लैख्दै सुगौली सन्धीमा नेपालको भनी स्पष्ट किटान भएको र लामोसमयसम्म नेपालको नक्सामा पनि समेटिएको र ऐतिहासिक प्रमाण र तथ्यका आधारमा हालै नेपाल सरकारले सार्वजनिक गरेको नेपालको प्रशासनिक र राजनीतिक नक्सामा परेका कुटी,गुञ्जी,नाभीसहितका बस्ती र कालापानी,लिपुलेकसहित लिम्पियाधुरा सम्मको नेपाली भूमिमा आवतजावत गर्न नेपालीहरुलाई कुनै अवरोध सिर्जना नगर्न अनुरोध गरेको छ ।

भारतको धारचुला जिल्लाका उपजिल्लाधिकारीले जुलाई १४ तारिखमा नेपालको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेख्दै नेपालका विभिन्न समूहहरु हाल भारतमा रहेको कुटी,गुञ्जी,नाभी,कालापानी,लिपुलेक र लिम्पियाधुरा प्रवेश गर्न तयारमा रहेको भन्ने सूचना प्राप्त भएकोले सो कार्य नगन नगराउन तथा प्रवेश गर्ने सूचना प्राप्त भए तुरुन्त आफूलाई खबर गर्न अनुरोध गरिएको पत्र पठाउनुभएको थियो।

भारतीय पक्षबाट नेपालका भूमिमाथि पुन दावी गरी प्रेषित गरिएको पत्र प्राप्त हुनासाथ आफूले गृह र परराष्ट्र मन्त्रालयमा जानकारी गराएको दावी जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले गर्नुभएको छ।

उहाँले विदेशसंगको मामला परराष्ट्र मन्त्रालयले हेर्ने भएकोले आफूले विभागीय मन्त्रालयमा गृहमा यसबारे जानकारी गराएको उल्लेख गर्नुभयो ।

केन्द्रबाट गृह मन्त्रालयको निर्देशनपछि भारतीय पत्रको जबाफ नेपाली पक्षले फर्काएको छ।

‘भारतले पत्रमा उल्लेख गरेका ती क्षेत्र नेपाली भूमि हुन् भन्नेमा शङ्का छैन, नेपाली भूमिमा हिँड्डुल गर्न पूर्ण स्वतन्त्रता नेपाली नागरिकलाई छ’,उहाँले भन्नुभयो।

पत्र
जिल्ला प्रशासनले कार्यालय दार्चुलाले मङ्गलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले मानिसहरूलाई दुःख नदिन भनिएको छ।

असार ३० मा भारतको धार्चुलाका उपजिलाधिकारीद्वारा नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्रमा ‘विभिन्न नेपाली समूहरगुट भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा लुकीछिपी प्रवेश गर्न खोजिरहेको विशिष्ट सूत्रमार्फत् जानकारी प्राप्त भएको’ उल्लेख छ।

‘ती समूहले मिडियाको ध्यान आकर्षण गराई दुवै तर्फका प्रशासनलाई अप्ठेरो पार्न सक्ने’ भन्दै पत्रमा त्यसबारे नेपाली अधिकारीलाई कुनै सूचना प्राप्त भए अवगत गराइदिन अनुरोध गरिएको छ।

Image

नक्सा विवाद
नेपाल र भारतबीचको सम्बन्ध अहिले इतिहासमै सबभन्दा खराब स्तरमा पुगेको बताइन्छ । यसको कारण पछिल्लो समयमा उत्पन्न नक्सा विवाद रहेको छ । यस प्रकरणले दुई देशबीच विद्यमान सम्वादहीनताका कारण झन् बल्झँदै गइरहेको विश्लेषकहरू बताएका छन्।

भारतले जम्मू(कश्मीरको हैसियत परिवर्तन गरेपछि गत वर्ष कार्तिकमा सार्वजनिक गरेको उसको नक्सामा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समावेश गरेपछि यो प्रकरण सुरु भएको थियो।

भारतले अहिले जम्मु र कश्मिर,केन्द्र शासित लद्दाखको नयाँ सीमामात्र राखेर अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय सीमाना पूर्ववत राखेर गतबर्ष नयाँ नक्सा प्रकाशन गरेको थियो । तर महाकाली सन्धीको समयदेखि नै वास्तविक महाकाली नदी लिम्पियाधुराबाट उद्गम हुने भएकोले त्यसका पूर्वी ढलोले समेट्ने जमिन सबै नेपालको हुनुपर्ने आवाज उठेको थियो ।

नेपालले आफ्नो भनेर दावी गर्दै आएको सो भूमि भारतीय नक्सामा पूर्ववत पारिएपछि नेपालले त्यसको विरोध गर्दै गर्दै कूटनीतिक पत्राचार गर्‍यो। तर सम्वाद हुन सकेन।

त्यसपछि विश्वमा कोरोना भाइरसको महामारी फैलिएपछि भारतले कोरोना सङ्कट समाधानपश्चात् वार्ता गरिने आशय व्यक्त गरेको थियो।

कालापानी क्षेत्र

तर लगत्तै वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले दाबी गरेको धार्चुला(लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गरेपछि विवादले नयाँ र चर्को मोड लियो।

सम्वादको आशमा बसेको नेपालले त्यसपछि ती क्षेत्र समावेश भएको नयाँ नक्सा सार्वजनिक मात्र गरेन त्यसलाई संविधानमा रहेको राष्ट्रिय निशाना छापमा समेत अङ्कित गराउन संविधान संशोधन गर्‍यो।

उक्त संशोधन असार ४ मा राष्ट्रपतिद्वारा प्रमाणित भइसकेको छ।

त्यसयता दुवै देशबीच चिसिएको सम्बन्धमा कुनै सुधारको छनक देखा परेको छैन।(बीबीसीबाट)

Share Now

Leave a comment.