काठमाडौं, १४ साउन । विगत २४ घण्टामा देशभरिमा थप २ सय १० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपराह्ण दिएको जानकारी अनुसार यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ।
अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १ सय ४६ जना निको भएसँगै अहिलेसम्म १४ हजार २१ जना रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५ हजार ३ सय ६० व्यक्ति देशभरि छन्।

काठमाडौं उपत्यकामा ४ सय ८९ सङ्क्रमित
काठमाडौं उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएकाहरुको सङ्ख्या ४ सय ८९ जना पुगेको छ।
बुधवार उपत्यकाका तीन जिल्लामा १५ जना र मङ्गलवार ५३ जना नयाँ सङ्क्रमित देखिएका थिए।
यसरी सङ्क्रमित हुनेहरूमा काठमाडौंमा दुई भारतीय र एक चिनियाँ नागरिक सहित ३ सय ४९ जना, ललितपुरमा ८९ जना र भक्तपुरमा ५१ जना छन।

कोरोनाभाइरस परीक्षण
सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मङ्गलवारसम्म १ सय ६३ जना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।
सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।
वीरगञ्जमा ३४ जना थपिए
पर्साको वीरगञ्जमा सेना, प्रहरी, कारागार कर्मचारी र कैदीबन्दी गरी थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभएको छ।
नयाँ पुष्टि भएका सङ्क्रमितहरू दुई वर्षको बालकसहित ५ जना बालबालिका र १० जना महिला रहेका छन् ।
स्वेच्छाले पीसीआर परीक्षण गराएका व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको डा. उपाध्यायले बताउनुभएको छ।

पचास शैय्या क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा सङ्क्रमितको सङ्ख्या बढेपछि व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ।
यसैबीच पर्साको ग्रामीण भेगको पर्सागढी नगरपालिकामा छ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि ग्रामीण भेगका स्वास्थ्यचौकीहरू बन्द भएका छन्।
परीक्षणको स्तर
विगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ५८ हजार ३ सय ४४ रहेको छ।
अहिले देशभरिका क्वारेन्टाइनमा १४ हजार ४ सय ७१ जना छन्।








