Prakash Adhikari August 16, 2020

 

मस्को(रुस), ३१ साउन। रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरेको जनाएको छ।

यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत्‌ जानकारी गराएको छ।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ।

स्वीकृति

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताउनुभएको थियो।

विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो।

रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई ूएकदमै आधारहीनू भनेको थियो।

गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको जनाएको थियो।

रुसी खोपमा अमेरिकी विश्वास

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो  ।

‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले रुसी खोपबारे सकारात्मक धारणा राख्नुभएको हो । कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उहाँले बताउनुभयो ।

‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,’ राष्ट्रपति ट्रम्पले भन्नुभयो।

उहाँले चाँडै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्दै यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

आधारभूत प्रक्रिया पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उहाँको भनाइ छ । नयाँ खोप प्रक्रियामा गएको र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरूलाई अन्त्यन्त धेरै खुसी लागेको उहाँले बताउनुभयो ।

उहाँले अमेरिकमा पनि केही बैज्ञानिकले तीनओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिनुभयो ।

अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरि महामारीका रूपमा फैलिएको कोरानो भाइरसविरुद्ध विश्वभरि धेरै वैज्ञानिकले औषधि बनाइरहेको दाबी गरेका छन् ।

तर ती सबै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधिको मान्यता दिएको छैन ।

(बीबीसी/ एएनआई)

Share Now

Leave a comment.