न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ३२ साउन(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ‘मिल्ने साथी’ र कान्छा भाइ रोबर्टको ७१ वर्षको उमेरमा निधन भएपछि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
ूम दुःखका साथ भन्छु मेरा भाइ रोबर्टको आज राति मृत्यु भएको छ,ू राष्ट्रपति ट्रम्पले शनिवार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ।
राष्ट्रपति ट्रम्पले भाइको मृत्यु हुनु एक दिन अघि न्यूयोर्कस्थित अस्पतालमा भेटेर फर्कँदा सञ्चारकर्मीलाई भन्नुभएको थियो, ‘उसलाई गाह्रो भइरहेको छ।’
रोबर्टको मृत्यु के कारणले भयो भन्ने स्पष्ट छैन।

ट्रम्पका दाजुभाइ दिदीबहिनीको तस्बिर (बायाँदेखि दायाँ) रोबर्ट, एलिजाबेथ, फ्रेड, डोनल्ड, मेरियन
केही अमेरिकी मिडियाले उहाँ गम्भीर बिरामी भएको बताएका थिए।
‘उनी मेरा भाइ मात्रै थिएनन्, मेरा मिल्ने साथी पनि थिए’, डोनल्ड ट्रम्पले शनिवार जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ, ‘उनको सम्झना मेरो मनमा सदैव रहिरहने छ।’
राष्ट्रपति ट्रम्पका छोरा एरिकले उनका काकाबारे भन्नुभएको छ, ‘अदभूत मान्छे- बलिया र दयालु पनि।’
एरिकले ट्विटरमा लेख्नुभएको छ, ‘हाम्रो पूरा परिवारले उहाँलाई सम्झिरहनेछ।’

भाइलाई भेट्न अस्पतालमा डोनल्ड ट्रम्प
फ्रेड र मेरी एनी ट्रम्पका पाँच जना छोराछोरीमध्ये रोबर्ट सबभन्दा कान्छा हुनुहुन्थ्यो र डोनल्ड ट्रम्प भन्दा दुई वर्ष कान्छा।
सबभन्दा जेठा फ्रेड जुनियरको सन् १९८१मा निधन भइसकेको छ।
रोबर्ट ट्रम्प पारिवारिक घरजग्गा व्यवसायमै एक उच्च अधिकारीका रूपमा संलग्न हुनुहुन्थ्यो। आफ्ना दाजुको विपरीत उहाँ प्रचार प्रसारमा हुनुहुन्थेन र न्यूयोर्क राज्यमा झन्डै झन्डैअवकाश जस्तै जीवन बिताइरहनुभएको थियो।
उहाँ हालै आफ्नी भतिजी मेरी ट्रम्पको राष्ट्रपति ट्रम्पबारेको पुस्तक ‘हाउ माइ फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान‘ छाप्नबाट रोक्न अदालत पुग्नुभएको थियो तर उहाँको प्रयत्न सफल भएन।
द न्यूयोर्क पोस्टका अनुसार रोबर्ट म्यानहटस्थित माउन्स सिनाइ अस्पतालमा गएको जून महिनामा एक हप्ता भन्दा बढी समय आईसीयूमा रहनुभएको थियो।


















