काठमाडौं, १ भाद्र । संवैधानिक निकाय र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल सम्पन्न भएको छ ।
संवैधानिक परिषद्को सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग कांग्रेस नेता रमेश लेखक सहभागी हुनुहुन्थ्यो भने नेकपाबाट दुई अध्यक्षसँगै पूर्वसभामुख सुवास नेम्वाङ ।
बालुवाटारको बैठक पछि नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले संवैधानिक नियुक्तिहरुका बारेमा विपक्षी दलको नेताका रूपमा कांग्रेस सभापति देउवासँग परामर्श गर्नु भएको उल्लेख गर्नुभएको छ ।
उहाँले बैठकको प्रारम्भमा नै कांग्रेस सभापति देउवाले ३ विषय उठाउनुभएको उल्लेख गर्नुभएको छ ।
उहाँले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदी पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको कयौं बेपत्ता भएको तथा गाउँबासीले १० दिन अघि देखिनै गुहार माग्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नदिएको विषयको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभएको थियो ।
कांग्रेस सभापति देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघेको र संक्रमण तीव्र गतिमा विस्तार भएको उल्लेख गर्दै कोरोना संक्रमण रोक्न सरकार असक्षम भएकोले नयाँ रणनीति तय गरी काम गर्न र पर्याप्त आइसोलेसन कक्ष र भेन्टिलेटरको अविलम्ब ब्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।
कांग्रेस सभापतिले त्रिभुवन विश्वविद्यालयमामा राजनीतिक पुर्वाग्रहपूर्वक काम कारबही भएको प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, उनीहरुले राखेका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने र २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने जस्ता बलमिच्याई सच्याउन लगाउन आग्रह गर्नुभएको थियो ।
कांग्रेस सभापति देउवाले आपसी परामर्श र सहमतिमा गरिने कार्यमा कांग्रेसको सरकारलाई कांग्रेसको साथ रहने विश्वास दिलाउनुभएको बताइएको छ ।


















