सानोथिमी(भक्तपुर), १ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा (एसइइ)को नतिजा सार्वजनिक गरेको छ।
कोरोना भाइरस संक्रमणका कारण यसवर्षको एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको छ ।
बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित भएको बताउनुभएको छ ।
परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले ग्रेडीङमा नै नतिजा आएपनि विगतमा जस्तै एउटै मापदण्डका प्रश्नपत्र सहित परीक्षा नगरिएकाले कुन ग्रेड ल्याउनेको सङ्ख्या कति छ भनेर प्रकाशन नगरिएको बताउनु भएको छ ।
परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार बोर्डले एउटै प्रश्नपत्रबाट परीक्षा नलिएका हुनाले ग्रेडीङको हिसाब गरिएको छैन।
यस पटकको एसईई परीक्षामा करिब ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।
निर्धारित मिति चैत्र ६ गते सुरु हुनभन्दा अगाडि चैत्र ५ गते कोरोना संक्रमणको त्रासको कारण सरकारले अनिश्चित कालको लागि एसईई परीक्षा स्थगन गरेको थियो ।
चैत्र ११ देखि देशव्यापी सुरु भएको लकडाउन लम्बिएपछि शैक्षिक शत्रलाई खेर जान नदिने उद्देश्यले सरकारले एसईईको परीक्षाको तयारीमा रहेका विद्यार्थीले कक्षा १० मा अध्ययनरत रहदा प्रथम,द्धितीय र तृतीय त्रैमासिक परीक्षामा हासिल गरेको अंकको आधारमा विद्यार्थीको मूल्यांकन गरी माध्यमिक शिक्षा परीक्षा बोर्डमा मूल्यांकन फारम पठाउने र त्यही आधारमा नतिजा प्रकाशन गरी प्रमाणपत्र प्रदान गर्ने नीतिगत निर्णय गरेको थियो ।
कोरोनाभाइरसको महामारी जारी रहने सङ्केतसँगै सरकारले गएको जेठ २८ गते विगतमा विद्यालयहरूले गरेका आन्तरिक मुल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको थियो।
जस अनुसार पहिलो त्रैमासिक परीक्षालाई कूल पूर्णांकको १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षालाई कूल पूर्णांकको ३० प्रतिशत र अन्तिम परीक्षालाई ६० प्रतिशत अंकभार दिई मूल्यांकन गरी सो विवरण पठाउन विद्यालयहरुलाई आग्रह गरिएको थियो ।
बोर्डले त्यसपछि एउटा कार्यविधि तयार पारेर विशेष ढङ्गले नतिजा प्रकाशन गर्ने निर्णय लिएको थियो।
त्यसअन्तर्गत विद्यालयहरूलाई आफ्ना नतिजा असार १५ गतेसम्म जिल्लामा र जिल्लालाई विद्यालयहरूका विवरणलाई असार मसान्तसम्म केन्द्रमा पठाइसक्न भनिएको थियो।
साउनको मध्यमा नै परीक्षाफल प्रकाशित गर्ने भनेर परीक्षा बोर्डले भनेको भएपनि कतिपय ठाउँबाट आन्तरिक मुल्याङ्कन विवरण प्राप्त नभएको र कतिपय विषयमा शिक्षा मन्त्रालयको उच्चतहसँग परामर्श गर्नुपरेकाले केही समय लागेको बताइन्छ।
एसईईको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
नेपालमा सन् २०१६ मा पहिलो पटक ग्रेडिङ भनिने विधिबाट कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने अभ्यास प्रारम्भ भएको थियो।


















