न्यूजर्सी, (संयुक्त राज्य अमेरिका), २ भाद्र । चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ। ९० वर्षीय जसराजको सोमबार अमेरिकामा निधन भएको हो।
जसराजकी नातिनी मीनाक्षीाले बीबीसीकी सहयोगी पत्रकार मधु पालसँग मृत्युको पुष्टि गर्नुभएको छ।
अमरिकाको न्युजर्सीस्थत आफ्नै घरमा हृदयघातका कारण उहाँको निधन भएको हो ।
उहाँको निधन स्थानीय समयानुसार सोमबार बिहान ५ः१५ बजे भएको थियो।
पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायत थुप्रै पुरस्कारले सम्मानित पण्डित जसराजको जन्म सांगीतिक पृाष्ठभूमिा भएकै परिवारमा भएको थियो।
सन् १९३० मा हरियाणामा जन्मिनुभएका पण्डित जसराज करिब ८ दशक सांगीतिक क्षेत्रमा सक्रिय रहनुभयो। उहाँलाई बुबा पण्डित मोतिरामले संगीत सिकाउनुभएको थियो। जसराजले भारतका साथै अमेरिका र क्यानडामा पनि शास्त्रीय संगीतको प्रशिक्षण दिनुभएको थियो।
उहाँको सम्मानमा गत वर्ष मंगल र वृहस्पति ग्रहको बीचमा रहेको छुद्र ग्रहको नामकरण उहाँकै नामबाट गरिएको थियो।
इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन(आईएयू)ले २००६ भीपी३२ नामक छुद्र ग्रहलाई ‘पण्डित जसराज’ नाम दिएको हो। बीबीसी


















