काठमाडौं, ५ भाद्र । सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिकलाई ल्याउन संबन्धित देशबाट नेपालमा हुने तथा नेपालबाट संबन्धित देशमा हुने नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।
सरकारको प्रवक्ता समेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले शुक्रबार पत्रकार सम्मेलनमा यो जानकारी दिनुभएको हो । उहाँले भदौ १६ गतेदेखि नियमित उडान सुरु हुने गरी उडान तालिका तयार पार्ने काम पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जानकारी दिनुभयो।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ जस्ता नियमित भएका देशका शहरहरु र अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हो।
डा खतिवडाले नियमित उडान नहुने देशमा सम्बन्धित देशका नेपाली दूतावासले चार्टर्ड उडान गर्ने जनाएका छन् ।
साउदी अरब, कतार र कुवेत जस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नहुने डा खतिवडाले जानकारी दिनुभएको हो ।
यी देशमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासले चार्टर्ड उडान गर्नेछन्।


















