काठमाडौं, ११ भाद्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले बिहिबार भएको मृत्युको अनुसन्धान गर्न आग्रह गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना तथा सञ्चार विभाग प्रमुख विश्वप्रकाश शर्माले बिहिबार एक विज्ञप्ति प्रकाशन गर्दै यस्तो माग गर्नुभएको हो ।
कांग्रेसले जनाए अनुसार रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका बर्ष १९ का बिजय महरा स्वस्थ र हट्टाकट्टा युवक हुनुहुन्थ्यो । तर आज अकस्मात बीरगंजको एक अस्पतालमा उहाँको निधन भएको छ ।
त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पु¥याए लगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएका छन् ।
नेपाली कांग्रेसले दुवै घटनाको सत्यतथ्य अनुसन्धान गरी यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको छ।
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद भन्दै एकपछि अर्को उस्तै घटना हुँदै जांदा नेपाल प्रहरीको छविलाई त्यसले पु¥याउने असरप्रति गम्भीरतापूर्वक लिन पनि कांग्रेसले सचेत गराएको छ ।
त्यस्तै रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लागि पनि नेपाली कांग्रेसले सरकारको विशेष ध्यानाकर्षण गराएको छ । ।