फणीन्द्र दाहाल/ बीबीसी न्यूज नेपाली
नाम्खा(हुम्लां), ६ असोज । नेपालको सीमाभित्र चिनिया पक्षले भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि त्यसको स्थलगत निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको नेपाली टोलीसँग चिनियाँ पक्षले आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेपछि नेपाली टोली त्यसै फर्केको छ ।
चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो ।
उहाँका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ।
विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उहाँको भनाइ छ।
सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो।
त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढङ्गले हल गर्नुपर्ने सुझाव दिने अधिकारीहरूले बताएका छन्।
स्थलगत अध्ययन
स्थलगत अध्ययन गर्न उक्त टोली हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार पुगेको थियो।
त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभएको छ।

“भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो। हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयोलाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ।”
अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली भएको उहाँले बताउनुभयो।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए।
“हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन। तपाईँहरूकै सीमा क्षेत्रमा फर्किनुहोस् भनेपछि हामी माथि आयौँ। कुरा भएको त्यति हो। हाम्रो नक्सामा कायम छ भनेर उहाँहरूले भन्नुभयो। एघार नम्बरको पिलर फेला नपरेसम्म हामीले केही भन्ने अवस्था रहेन।”
चिनियाँ सेनाको माइकिङ
एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए।

“रोगका कारण नजिक पनि जान नमिल्ने टाढाटाढाबाट कुरा गर्नुपर्ने भएकाले खासै कुरा भएन। उहाँहरूसँग माइक थियो। हामीसँग त्यो पनि थिएन। त्यसमाथि चौबीसै घण्टा हावा लाग्ने डाँडामा कुरा गर्न पनि सहज अवस्था थिएन।”
चिनियाँ पक्षले भनेको दुई देशबीचको सीमा ती भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर रहेको जनाएको थियो।
सीमा अध्ययन टोलीका अनुसार नाम्खा गाउँपालिका वार्ड नम्बर ६ लालुङ्जोङमा रहेको उक्त स्थानमा चीनले केही वर्षअघि दुईवटा भवनहरू बनाएको थियो। ईँटबाट बनेका प्लास्टर गरिएका भवनहरू त्यतिकै छाडिएको भए पनि यो वर्ष ११ वटा भवन बनाएर पर्खाल लगाएको र सोलार पनि जडान गरेको पाइएको अध्ययन टोलीले जनाएको छ।।
तामाङले आफूले चिनियाँ प्रहरीलाई सैनिक राख्न भवन बनाइएको हो वा होइन भनेर सोधेको र त्यसको जबाफमा एक तिब्बती मूलका प्रहरीले व्यापारिक प्रयोजनका लागि ती भवन बनाइएको जानकारी दिएको उल्लेख गर्नुभयो।
चिनियाँ पक्षले भवन बनाएको स्थानसम्म पुगेको प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए।
राष्ट्रिय स्तरबाटै समाधान खोज्नुपर्नेमा जोड
प्रमुख जिल्ला अधिकारी गिरीले स्थलगत अध्ययनको प्रतिवेदन केन्द्रमा पठाउने र राष्ट्रिय स्तरबाटै समाधान खोज्नु पर्ने आशयको धारणा राखेको गाउँपलिका अध्यक्ष तामाङ बताउँनुहुन्छ।
सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो।

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोली उक्त स्थानमा गएको थियो
अध्यक्ष तामाङले भन्नुभयो, “मेरो विचारमा हामीले ११ नम्बरको पिलर रहेको स्थान पत्ता लगाउन सक्यौँ भने उनीहरूले पनि र हामीले पनि गलत दाबी गर्ने ठाउँ रहँदैन। हाम्रो स्तरबाट यो समाधान हुने देखिँदैन। यो विषय राष्ट्रिय स्तरबाट हेर्नुपर्छ। हामी त स्थलगत प्रतिवेदन पठाउने मात्रै हो।”
नाम्खा गाउँपालिकाको सीमा चीनसँग जोडिएपनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको र सुरक्षा चौकी बनाउन पटकपटक सरकारसँग आफूले माग गरेको तामाङले बताउनुभयो।
हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन्। झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट ‘टिपर’ चढेर चीनसँगको सीमामा पुग्न तीन घण्टा लाग्ने बताइन्छ।
उत्तर र पश्चिम दिशामा तिब्बततर्फ सीमा रहेको नाम्खा वडा नम्बर ६ मा जाङ, हल्जी र तिल गाउँहरू छन्। उक्त वडाको केन्द्र हल्जी हुम्ला सदरमुकामबाट ५० कोस टाढा छ।
यसअघि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल नेतृत्वको टोलीले स्थलगत भ्रमणका क्रममा उक्त स्थानमा चिनियाँ पक्षले भवनहरू बनाएको फेला पारेको थियो।
त्यसपछि प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रतिनिधिहरू उक्त क्षेत्रको स्थलगत अध्ययनमा गएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताउनुभयो।

चिनियाँ पक्षले ती भवनहरूको निर्माणलाई लिएर उठिरहेका प्रश्नहरूबारे हालसम्म प्रतिक्रिया जनाएको छैन।
यसअघि गएको जुन महिनामा एउटा प्रतिवेदनलाई उद्धृत गर्दै नेपाल र चीनबीच सीमा विवाद रहेका विवरणहरू सार्वजनिक भएपछि नेपालको परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको थियो।
मन्त्रालयले त्यसबेला नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा भएको सीमा सम्झौता र त्यसपछि हस्ताक्षर गरिएका प्रोटोकलका आधारमा सीमा निर्धारण गरिएको र कुनै विवाद आए दुई देशले आपसी सल्लाहका आधारमा त्यसलाई समाधान गर्ने बताएको थियो।


















