काठमाडौं, ७ असोज । विगत केही महिना यता काठमाडौं उपत्यकामा कोरोना संक्रमित देशका अन्य भागमा भन्दा तीव दरले बढेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंंगलबार अपराह्ण दिएको जानकारी अनुसार विगत २४ घण्टामा १ हजार ३ सय २६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६६ हजार ६ सय नाघेको छ।
सो अवधिमा दुई जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।
अहिलेसम्म ४ सय २९ सङ्क्रमितको मृत्यु भएको छ।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।
मन्त्रालयले सोमवार १ हजार १ सय ५४ सङ्क्रमित फेला परेका र १६ जनाको मृत्यु भएको जनाएको थियो।
गत शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
अहिले देशभरि १८ हजार १ सय ४२ जनामा सक्रिय सङ्क्रमण छ।
मन्त्रालयका अनुसार तीमध्ये ९ हजार १ सय ९३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै छन्।
थप १३ सय जनामा कोरोनाभाइरस सङ्क्रमण
सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्। त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
वाग्मती प्रदेशका १२ जिल्लामा अहिले १० हजार ४ सय भन्दा बढी सङ्क्रमित छन्। हिमाली जिल्ला रसुवामा भने सङ्क्रमितको सङ्ख्या शून्य छ।

नयाँ सङ्क्रमित कहाँका ?
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अहिले भेटिएका सङ्क्रमितमध्ये काठमार्डौं जिल्लाका ५ सय ११ जना छन्।
भक्तपुरमा ६३ र ललितपुरमा ७३ सहित उपत्यकामा कुल ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी मोरङमा ५७, सुनसरीमा ७७, सिराहामा ३३, काभ्रेपलान्चोकमा ३०, बाँकेमा ५८, रूपन्देहीमा ७४ र सुर्खेतमा ४४ जनामा पनि कोरोनाभाइरस भेटिएको हो।
अहिले फेला परेका सङ्क्रमितमध्ये ४ सय ५९ महिला र ८ सय ९७ पुरुष छन्।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले मृत्यु हुनेमध्ये एक जना काठमाडौं पुरुष र अर्की काभ्रेपलान्चोककी महिला छन्।
मन्त्रालयले उनीहरू दुवैको उमेर ५० वर्ष भएको जनाएको छ।
काठमाडौंका ८० सहित वाग्मती प्रदेशमा अहिलेसम्म १ सय ५९ जनाको मृत्यु भइसकेको छ।
थप विवरण
सोमवार अपराह्णयता ११ हजार १ सय ५४ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिड.मा बताउनुभएको छ।
सो अवधिमा ८ सय २३ जना रोगमुक्त प्रमाणित भए।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४८ हजार ६१ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७२ प्रतिशत हो।
गम्भीर लक्षण भएका बिरामीमध्ये २ सय २३ जना सघन उपचारमा र ३७ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।
तीमध्ये वाग्मती प्रदेशमा १ सय २८ जना सघन उपचारमा २८ जना भेन्टिलेटरमा छन्।
अहिले देशभरि ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा भएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो।
तीमध्ये सर्वाधिक २ हजार ५ सय ५१ जना सुदूरपश्चिम प्रदेशमा र १ हजार ६ सय १२ जना प्रदेश नं ५ मा छन्।(बीबीसीबाट)


















