काठमाडौं, ३० असोज । नेपालमा शुक्रबार अपरान्हसम्म त्यसपूर्वको २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप २१ जनाको कोरोना भाइरसको संक्रमणसमेतको कारणले ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरि विभिन्न जिल्लामा गरिएका १६ हजार ५ सय३१ वटा नमुना परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार नाघेको छ।
शुक्रवार थपिएका कोरोना संक्रमणका २१ जना मृतकसहित यसको समेत संक्रमणमा परेर नेपालमा अहिलेसम्म ७ सय १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कति जना भए निको ?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३ हजार ५ सय२२ सङ्क्रमित रोगमुक्त भएका छन्।
अहिलेसम्म ८८ हजार ४० सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.८ प्रतिशत हो।
बिहीवार ३ हजार ७ सय ४९ जनामा सङ्क्रमण र १९ जनाको मृत्यु पुष्टि भएको थियो।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।
गत शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो।
त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।
दश दिनको अवधिमा अहिले चौथो पटक दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको हो।
कति छन् सक्रिय सङ्क्रमित ?
अहिले देशभरि ३७ हजार ३ सय ८२ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेशनमा र बाँकी २५ हजार ४६ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।
तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन्।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ ।


















