ललितपुर, ३० असोज । सार्वजनिक सेवा प्रवाह गर्ने ललितपुर जिल्लाका कार्यालयहरुले आइतबार(कार्तिक २ गते)देखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भएका छन् ।
ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि अत्यवाश्यक बाहेकाका नियमित सेवा स्थगित गरिएको जानकारी दिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुर जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको हो ।

‘उपत्यकामा कोभिड–१९ संक्रमणको दर तीव्र गतिमा बढिरहेको र सबै सेवा सञ्चालन गर्दा सेवाग्रहीहरुको भिडभाड बढ्ने अवस्था रहेकोले सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालयहरुमा अत्यावश्यकबाहेकका सेवाहरु स्थगित गर्नुपरेको’ ललितपुर जिल्लाा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभएको छ ।
सवै सरोकारवाला निकायसँगको छलफलपछि डिसिसीएमसीले सो निर्णय गरेको थियो ।
सहायक प्रजिअ बस्नेतका अनुसार विद्युत, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द हुने छैनन् । ‘अत्यावश्यक सेवा प्रवाह बन्द भएपनि कार्यालय चाहिँ खोल्नुपर्नेछ’, सहायक प्रजिअ बस्नेतले बताउनुभयो ‘सार्वजनिक सेवा दिने कार्यालय खुल्छ, तर संक्रमणको जोखिमले गर्दा अत्यावश्यक बाहेक अन्य नियमित रुपमा प्रदान गर्दै आएका सेवा चाहिँ बन्द गर्ने निर्णय गरेका छौं ।’


















