Prakash Adhikari October 30, 2020

काठमाडौं, १४ कार्तिक ।भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमी मोनास्टिक स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गरिएको कुटपिटको छानबिन गर्दै अवाञ्छित कार्यमा संलग्न शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न र घर जान चाहने विद्यार्थीलाई घर पठाउन विद्यालय प्रशासनले प्रतिबद्धता जनाएको छ ।

उक्त एकेडेमीमा अध्ययनरत ५१ जना नेपाली विद्यार्थीहरुले दशैको समयमा घर जान निवेदन दिएपछि सो विद्यालयका अध्यक्ष रिन्पोछेले नेपाली विद्यार्थीलाई तर्साएर घरजानबाट रोक्न कुटपिट समेत गरेका थिए ।

यो घटना सार्वजनिक भएपछि बिहीबार हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधि र उत्तारञ्चल प्रदेशको मानवअधिकारवादी संगठनले हस्तक्षेप गरेपछि विद्यालय व्यस्थापनसंग बिहीबार साँझ ६ बजे भएको सहमतिमा दोषीमाथि कारबाही गरी इच्छुक विद्यार्थीलाई घर जान दिने सहमति भएको हो ।

नेपाली समाजका प्रतिनिधि हरिद्वारका पुष्पराज पाण्डेयले विद्यालयका प्रिन्सिपल छिरिङ छोदेनले सोमबार भएको विद्यार्थी कुटपिटको छानवीन गरी कारबाही गर्ने र घर फर्कन चाहने विद्यार्थीको अन्तिम सूची एकेडेमीले तयार गरी एक साताभित्र नेपाल फिर्ता पठाउन प्रबन्ध गर्ने विषयमा सहमति कायम गर्नुभएको बताउनुभएको छ ।

नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहार तथा सांघातिक तवरको कुटपिटबारेको खबर सार्वजनिक भएपछि हरिद्वारबाट पाण्डेय, देहरादूनस्थित गोरखा डेमोक्रेटिक संघका सूर्यविक्रम शाही, उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुग्नुभएको थियो ।

दसैं–तिहारको बिदामा घर फिर्न पाऊँ भनेर ४७ विद्यार्थीले निवेदन दिएपछि उब्जिएको विवादमाझ विद्यार्थीमाथि कुटपिट भएको बताइएको छ । विद्यालयमा नेपाली विद्यार्थीमाथि छानी छानी कुटपिट भएपछि गत मंगलबार ७ जना नेपाली विद्यार्थी एकेडेमीबाट भागेका थिए । ती मध्ये २ जना नेपाल आइसकेका छन् ।
बिहिबार साँझ भएको सहमति अनुसार सोमबार रातिको कुटपिट घटनामा सख्त घाइते भएका विद्यार्थीलाई तत्काल अस्पतालमा लगेर उपचार गरिने विषय पनि परेको छ । विद्यार्थी घर फिर्ता पठाउदा नेपाली प्रतिनिधि पाण्डेयले सबै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरेर नेपाल–भारत बोर्डर नाकासम्म ल्याइदिने सहमति छ ।

एकेडेमीको व्यवस्थापन एवं खानपिनसहितको प्रबन्धबाट असन्तुष्ट भएर ३ देखि ७ ग्रेडसम्म पढ्ने ४७ विद्यार्थीले घर फिर्नका लागि निवेदन दिएका थिए । तर एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले बौद्ध धर्म र दर्शनको प्रवर्धन गर्न दिएको शिक्षा बिर्सेर हिन्दुहरुको चाड मानिे दसैं तिहारको रमाइलोमा फर्कन खोजेको भन्दै कुटपिट गरेका थिए।

अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङ, रोल्पा, नुवाकोट, सिन्धुपाल्चोकसहित नेपालका ३० जिल्लाका २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइन्छ ।

‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न समेत दिइएको थिएन । रिम्पोचे ज्ञानबज्रले फलामको डन्डीले हिर्काएको अभिभावकहरुले बताएका छन् ।

एकेडेमीमा गरिब तथा जेहेन्दार नेपाली विद्यार्थीलाई निःशुल्क पढाउने गरिन्छ । हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् ।

शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ ।

शाक्य एकेडेमीमा आफ्ना छोराछोरीले कुटपिट बेहोरेको र खानपिनसहितका समस्या खेपेको जानकारी रामेछाप, गुम्देलका टेन्डी शेर्पाले बुधबार दिउँसो मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिएपछि यो घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मानवअधिकारकर्मीहरुले जोखिममा रहेका विद्यार्थीहरुको सकुशल उद्धार गर्न सरकारसंग आग्रह गरेका थिए ।

Share Now

Leave a comment.