काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्तिक १७ गते सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका चल्तापूर्जा नेता र पदाधिकारीको बैठक बोलाउनुभएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठक यही कार्तिक २१ गते शुक्रबार तय गरिएकोले सोको लागि अनुकूल वातावरण निर्माणको लागि सभापति देउवाले शीर्ष नेता र पदाधिकारीहरुको बैठक बोलाउनु भएको हो ।
कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटका कारण आगामी फागुन ७ गतेदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशनका कार्यतालिका पूरै प्रभावित भएको छ । यो केन्द्रिय समितिको बैठकमा महाधिवेशनको मिति र कार्यतालिका परिवर्तन मुख्य एजेण्डा हुने निश्चित जस्तै छ । तर महाधिवेशन सार्ने र कार्यतालिका परिवर्तन गर्ने प्रस्ताव सहमति बेगर केन्द्रीय समितिमा प्रस्तुत गर्न सक्ने अवस्था छैन ।
पार्टी सभापति देउवासंग विभिन्न मुद्दामा विमति राख्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले गत असोज १२ मा पार्टी सञ्चालनमा सुधारको माग गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराउनुभएको थियो।
शीर्ष नेताहरुको बैठकमा उक्त विरोधपत्रमा समावेश गरिएका विषयमा पनि छलफल हुने बताइएको छ।
पार्टीभित्र क्रियाशील सदस्यता वितरण, समायोजन लगायतका विषयमा पनि नेताहरुको बीचमा बुझाईमा अन्तर रहेको छ ।
१७ गते पार्टी कार्यालयमा बस्ने शीर्ष नेताहरुको बैठकले पार्टीभित्रको असमझदारी समाप्त गरी २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठक बस्न सहज वातावरण बनाउने अपेक्षा गरिएको छ ।
असोज १२ मा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै भन्दै उहाँहरुले हस्ताक्षरसहितको विरोधपत्र बुझाउनुभएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर सहितको विरोध पत्र केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी कार्यालय पुगेर दर्ता गर्नुभएको थियो।
सभापतिको कार्यशैलीसंग विमति राख्ने नेताहरुले असोज १९ गते निर्धारित पार्टीको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिनुभएको थियो।
केही केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण देखिएको र नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष खनुपरुदे रामबाबु प्रसाईको निधनको कारण स्थगित भएको केन्द्रीय समिति बैठक कात्तिक २१ गते बोलाइएको छ ।


















