Prakash Adhikari November 30, 2020

काठमाडौं, १५ मंसिर । सत्तारुढ दल आन्तरिक झगडामा अल्झिएको र प्रमुख प्रतिपक्षी दलका नेताहरु कुम्भकर्णे निद्रामा परेको अवसर छोपेर राजधानी काठमाडौंको मुटु माइतीघरमा राजावादीहरुको एउटा समूहले बाजागाजा र नाराबाजीसहित जुलुस प्रदर्शन गरेको छ।

राष्ट्रिय शक्ति नेपालको व्यानरमा एकत्रित राजवादीहरुले राष्ट्रिय झण्डा उचालेर गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका थिए।

राजा आउ देश बचाउ,संघीयता धोका हो , गणतन्त्र चाहिदैन जस्ता नारा लगाउदै प्रदर्शनकारीहरुले राजतन्त्र पुनस्थापनाको माग गरेका थिए ।

शहरका विभिन्न भाग भएर माइतीघरमा प्रदर्शनकारी एकत्रित भएका थिए । प्रदर्शन हुने थाहाभएपछि बबरमहल, सिंहदरबार, थापाथलीसहितका विभिन्‍न चोकमा सयौं प्रहरी तैनाथ गरिएको थियो तर कडा सुरक्षा व्यवस्थाका बावजुद प्रदर्शनकारीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिए ।

आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी गरेका छन्। त्यसकै पूर्वतयारीस्वरुप यो प्रदर्शन गरिएको बताइएको छ।

राजावादीहरुको समूहले देशका विभिन्‍न भागमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले पोखरा, धनगढी, हेटौंडा, वीरगञ्‍ज र बुटबललसहितमा व्यापक प्रदर्शन गरेका थिए।

Share Now

Leave a comment.