Prakash Adhikari December 1, 2020

 

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आजको बैठक पार्टी कार्यालय धुम्बराहीमा बस्ने तय भएको थियो तर अन्तिम समयमा प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै बालुवाटार बाहिर बैठकमा नजाने अड्डी लिएपछि सरकारी निवास बालुवाटारमा बैठक बस्ने चाँजोपाँजो मिलाइएको छ। दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गर्नुभएका राजनीतिक प्रतिवेदनहरुमाथि छलफल हुने कार्यक्रम छ ।

नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले कार्तिक २८ गते प्रस्तुत गर्नुभएको प्रतिवेदनको जवाफ दिनुभएको थियो ।

प्रचण्डका गम्भीर आरोप

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि सरकार र पार्टीको सफल नेतृत्व दिन नसकेको आरोप लगाउनुभएको छ । उहाँले १९ पृष्ठ लामो प्रतिवेदनमा देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको समुचित व्यवस्थापन गर्न नसकेको, कोरोना संक्रमणको महामारीको समयमा जनताको जीवन रक्षाका लागि खरिद गरिने औषधी र उपकरणमा समेत भ्रष्टाचार गरेको, बाइड बडी,न्यारोबडी, ३३ किलो सुन, सेक्युरिटी प्रेस खरिद, गोकर्ण रिसोर्टको लिज प्रकरणमा यति ग्रुपलाई पोसेको, सरकारले गर्ने राजनीतिक, संवैधानिक र कुटनीतिक नियुक्तिमा पार्टीको परामर्श नलिएको, मन्त्रिमण्डल पुनर्गठन स्वेच्छाचारी ढंगले गरेको, पार्टीको छवि बदनाम हुने गरी विपक्षी दललाई फुटाउने नियतले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको, सांसदहरुलाई सरकारी संलग्नतामा अपहरण गरेको, संघीयता विरोधी अभिब्यक्ति दिएको, पार्टीमा अर्को समूहलाई कित्ताकाँट गरी अपमानित गरेको, आफूसंग विमति राख्ने शीर्ष नेताहरुलाई अख्तियार, सीआईबी र अदालतबाटमा दबाव दिएर झुठा मुद्दामा अल्झाएर उनीहरुको राजनीतिक जीवन समाप्त पार्ने नियतले व्यक्तित्वको तेजोबध गर्न खोजेको, नेपाली जनताको साढे ७ दशकको अथक संघर्ष र बलिदानले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था र संविधान सभाले निर्माण गरेको संविधानमाथि खतरा निम्त्याएको र पार्टी तथा देशको हित र समुन्नतिका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग गरी योगदान गर्न आग्रह गर्नुभएको थियो ।

यही मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले आफूमाथि लगाउनुभएको आरोपको खण्डन गर्दै ती आरोप पुष्टि भएमा आफूले पदमा बस्न नमिल्ने र पुष्टि नभएमा राजिनामा माग्नेले पद त्याग गर्नुपर्ने चुनौती दिनुभएको छ ।

ओली पनि नग्न रुपमै प्रस्तुत

प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको प्रचण्डको भन्दा दोब्बर लामो ३८ पृष्ठको ५३ बूँदे जवाफी प्रतिवेदनमा उहाँले आफ्नो सरकारले गरेका कामको उल्लेख गर्नुभएको छ , पार्टीको कार्यकारी अध्यक्ष भएर पनि पार्टीको एकीकरण प्रक्रिया टुंग्याउन र एकता महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले आफ्नो समान हैसियत भएको र उहाँभन्दा पहिले नै प्रधानमन्त्री बनिसक्नुभएका(दुइपटक) वरिष्ठ नेतालाई निकै तल्लो स्तरको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई व्यक्तिगत असन्तुष्टी,सीमाहीन कुण्ठा र निहित स्वार्थ लुुकेको र रित पनि नपुगेको भन्दै खारेजीको माग गर्नुभएको छ । उहाँले पार्टीभित्रका असन्तुष्टिलाई लिखित रुपमा पेश गरेर शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको आरोप लगाउदै कम्युनिष्ट आन्दोलनलाई संकटमा धकेलेको आरोप लगाउदै समयले यसको उचित हिसाब खोज्ने धम्की पनि दिनुभएको छ । उहाँले आफूमाथि फौजदारी कानून आकर्षित हुने आरोप लगाएको बताउदै प्रचण्डमाथि पार्टी विभाजनको औपचारिक घोषणा गर्नुभएको फत्तुर पनि लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आरोप पुष्टि भएमा राज्यको कानुन र पार्टीको विधान अनुसार कारबाहीको भागिदार हुनुपर्ने नभएमा सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न पनि चुनौति दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको मानमर्दन गर्न कुनै कसर छोड्नुभएको छैन् । उहाँले शान्ति प्रक्रियामा आएपछि दोस्रो जनआन्दोलन २०६२।६३का कमाण्डर गिरिजाप्रसाद कोइराला तथा कम्युनिष्ट पार्टीबाट प्रस्तावित तात्कालिन नेकपाका नेता माधवकुमार नेपाललाई राष्ट्रपति बन्न नसघाएर धोका दिएको, दोस्रो संविधान सभाको निर्वाचनमा भएको माओवादीको पराजय स्वीकार गर्न नसकेर छानवीन समिति बनाएर लाज ढाक्नु परेको, आफ्नो नेतृत्वमा बनेको सरकार ७ महिनामा ढाल्न अग्रसर भएको, छोरीलाई मेयरमा जिताउन मतपत्र च्यात्न अग्रसर भएको, एउटै चुनाव चिन्ह सूर्यमा चुनाव लड्ने सहमति बाह्य शक्तिको आडमा २४ घण्टामा तोडेको, आलोपालो प्रधानमन्त्री बन्ने कागजमा २०७४ फागुन ७ गते हस्ताक्षर नभएसम्म सरकारमा सहभागी बन्ने मन्त्रिहरुको नाम नदिएर पदलोलुप प्रवृत्ति देखाएको, विदेशी भूमि भारतमा गएर सत्ताको आलापालो नेतृत्व गर्ने सहमति भएको खुलासा गरेको, सत्ता केन्द्रित राजनीति गरेको, निर्वाचनमा तात्कालीन एमालेकोभन्दा एक तिहाई मत भएर पनि पार्टीमा समान हैसियत खोजेको, निर्वाचन र महाधिवेशन बेगर नै पार्टीको शीर्षासनमा विराजमान हुन खोजेको, आफ्नो निवासलाई गुटबन्दीको केन्द्र बनाएको , सरकारले गरेका राम्रा कामको समर्थन र प्रचार गर्न नसकेको र मन्त्री तथा राजकीय आवश्यकताका पदहरुमा नियुक्ती गर्ने प्रधानमन्त्रीको स्वतन्त्र अधिकारमाथि अंकुश लगाउन खोजको जस्ता संगीन आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू आगामी महाधिवेशनमा पार्टीको अध्यक्षमा नउठ्ने घोषणा गरिसक्दा र अर्को निर्वाचनपछि प्रधानमन्त्री पनि नबन्ने उद्घोष गरिसकेकोले त्यतिबेलासम्म धैर्य गर्न नभए दोस्रो पुस्ताका योग्य व्यक्तिलाई नेतृत्व सुम्पेर दुवै अध्यक्षले अभिभावकीय भूमिकामा रहन पनि आफू तयार रहेको उल्लेख गर्दै प्रचण्डलाई त्यसका निमित्त तयार रहन चुनौती दिनुभएको छ ।

उहाँले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको जीवन शैली सम्पत्तिमा प्रश्न उठाउदै पूर्वमाओवादीहरुप्रति रोष प्रकट गर्नुभएको छ । उहाँले प्रचण्डलाई सरकार ढाल्न भित्री खेल खेलेको गम्भीर आरोप पनि लगाउनुभएको छ ।

आज के होला ?

दुवै अध्यक्षको चर्को आरोप प्रत्यारोप एकले अर्काेलाई पद छोड्न दिएको चुनौतीका भाषा भएका प्रतिवेदनहरुमाथि सचिवालयमा छलफलपछि मतदान भएमा कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव पारित हुने र प्रधानमन्त्री ओलीको प्रस्ताव फेल हुने अवस्था छ । प्रचण्डको प्रस्ताव उहाँकै नेतृत्वमा सचिवालय बैठकको माग गर्ने बहुमत सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको परामर्श र सहमतिमा लेखेर पेश गरिएको हो । नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्रीको साथमा विना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल हुनुुहुन्छ ।

आजको बैठकमा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीका अभिव्यक्ति र काम कारबाहीप्रति असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनुभएका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्ना समूहका वरिष्ठ नेताहरु नेपाल,खनाल,गौतम र श्रेष्ठको सहमतिमा प्रधानमन्त्री ओलीले १३ गते पेश गर्नुभएको आरोपको लिखितै जवाफ पेश गर्ने तयारी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिवेदनमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डमाथि व्यक्तिगत र पूर्वमाओवादी नेताहरुमाथि प्रवृत्तिगत आरोप लगाएकोमा आक्रोशित नेताहरुले त पार्टी र सरकारको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न प्रधानमन्त्रीले इमान्दारीपूर्ण प्रतिवद्धता व्यक्त गरेको भए आजै दुवै पदबाट दिएर त्यसको थालनी गर्न चुनौती दिन थालेका छन् ।

उनीहरुका अनुसार सत्ता,शक्ति र सम्पत्तिको मोह प्रचण्डमा भन्दा ओलीमा बढी छ । निसन्तान भएर पनि दिनहीन नेपाली महिलाहरुले दानमा दिएको मृगौलाको भरमा उधारो जीवन बाचिरहदा पनि उहाँ हरेक संभवभएसम्मका ठाँउमा भ्रष्टाचार र आर्थिक अनियमितता गर्न उद्यत हुनुहुन्छ । पार्टीमा संकट आउन पाएको छैन, नेपाली कांग्रेससंग मिलेर सत्ता चलाउने भित्रि तयारी थाल्नुभएको छ । उहाँ नै पार्टी फुटाउन गत बैशाखदेखि प्रयासरत रहनुभएको छ । उहाँले आर्यघाट नपुगीकन दुवै पद छोड्नु हुने छाँटकाँट छैन ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीमा दुई तिहाई समर्थनको सत्ता उन्माद बढेको र पार्टीको विधि र पद्धति दलीय व्यवस्थाको परम्परालाई लत्याउदै आफूप्रति विमति राख्नेलाई राजनीतिको मैदानबाट हटाउने प्रवृत्ति विकसित भएकोले त्यसलाई रोक्न निर्णायक कदम चाल्नु पर्ने र कसैले खुट्टा कमाउन नहुने बताउनुभएको छ ।

 

Share Now

Leave a comment.