काठमाडौं, ८ पौष । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिले वैकल्पिक सरकार दिने संभावना रहेसम्म यसलाई विघटन गर्न नपाईने दावी गर्नुभएको छ ।
संसद विघटनबारे ४ दिनपछि बुधबार एक विज्ञप्ति जारी गर्दै उहाँले संविधानको धारा ७६ को अक्षर र भावनासहित संविधान निर्माता संविधानसभाका सभासद्हरुको मनशाय यसमा स्पष्ट रहेको बताउनुभएको छ ।
उहाँले यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ ।
‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ’ उहाँले भन्नुभएको छ ।
उहाँले पौष १७ गतेभित्र संसदको हिउँदे अधिवेशन सुरु गर्ने गृहकार्य भइरहेका बेला सिर्जना गरिएको अवरोधले आफू र सिंगो प्रतिनिधिसभा मर्माहत भएको बताउदै सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच फेरि एक पटक उच्चस्तरीय समझदारीको आवश्यकता औल्याउनुभएको छ ।
उहाँले संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’