Prakash Adhikari December 31, 2020

काठमाडौं, १६ पौष । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर विरोध गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाले ८ बर्ष लामो निर्वासित जीवन परित्याग गर्दै मुलुकको राष्ट्रिय अस्तित्वमाथि संकट आउने सक्ने अवस्थालाई मध्यनजर गरी २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति घोषणा गरी स्वदेश फिर्ता भएको दिनको स्मरणमा आज पार्टीको सूचना ,सञ्चार तथा केन्द्रीय प्रचार विभागद्धारा आयोजित कार्यक्रमलाई जुमबाट संबोधन गर्दा सो कुरा बताउनुभएको हो ।

संबोधनको क्रममा सभापति देउवाले भन्नुभयो, कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धनका लागि नेपाली कांग्रेस एक छ । आजको हाम्रो मुल अभिभारा यहि हो ।

 

उहाँले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान रहेको बताउनुभएको थियो ।

उहाँले राष्ट्रिय मेलमिलाप नीतिको सन्दर्भ र मर्मको चर्चा गर्दै भन्नुभयो , ‘वीपी कोइरालाले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ ।’

उहाँले थप्नुभयो, मेलमिलाप नीतिको मुल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।

वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नु भएको उल्लेख गर्दै उहाँले जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा ०४६ सालको परिवर्तन भएको बताउनुभयो ।

मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन निरन्तर प्रयास गरेको तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको पनि उहाँले बताउनुभयो ।

कांग्रेस सभापति देउवाले वीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट कांग्रेसका तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको पनि दावी गर्नुभएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस सभापतिले कुनै पनि बहानामा एकदलीय शासन पद्दति मान्न नसकिने बताउनुभयो ।

उहाँले संसद् विघटनको विषयको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले फैसला कुरेर मात्रै अघि बढ्ने बताउनुभयो।

‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन। अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं,’ सभापति देउवाले भन्नुभयो, ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वतन्त्र न्यायालयको निर्णय हामीले मान्नुपर्छ।’

Share Now

Leave a comment.