
बेइजिड.(चीन), १७ पौष(बीबीसी) । चीनले सरकारी स्वामित्व रहेको औषधी उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ।
उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।
चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ।
Covid-19: China approves Sinopharm vaccine for general use https://t.co/xSxvDItJtb
— BBC News (World) (@BBCWorld) December 31, 2020
सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।
क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस सङ्क्रमणलाई कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्दै सङ्क्रमणको दरलाई निकै कम राख्न चीन सफल भएको छ।
खोपबारे चीनले के भनेको छ ?
बिहिवारको घोषणा चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो जसलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनका लागि मुख्य कदमका रूपमा हेरिएको छ।
चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो। त्यहाँ हालसम्म खोपको ४५ लाख भन्दा बढी मात्रा वितरण गरिसकिएको छ।
बेङजिङ्ले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा गरेको छ।
विज्ञहरू के भन्छन् ?
केही विज्ञहरूले सावधान रहँदै खोपलाई दिइएको स्वीकृतिको स्वागत गरेका छन्। तर उनीहरूले परीक्षणको विस्तृत डेटा सार्वजनिक नगरिएको औँल्याएका छन्।
‘पूर्ण रूपमा समीक्षा गरिएको अध्ययन वा डेटा प्रकाशन नगरिएकाले चिनियाँ वा रुसी खोपको प्रभावकारिताबारे टिप्पणी गर्न गाह्रो छ’,सोलस्थित इन्टरन्यासनल भ्याक्सिन इन्स्टिच्युटका सोङ मान-कीले समाचार संस्था रोयटर्सलाई बताउनुभयो।
पश्चिमा मुलुकहरूमा फाइजररबायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत र मोडेर्नाले विकास गरेको खोप ९४ प्रतिशत प्रभावकारी देखिएपछि सार्वजनिक प्रयोगका लागि स्वीकृत गरिएको थियो।
चिनियाँ खोप कसले प्रयोग गर्नेछन् ?
अक्सफर्ड यूनिभर्सिटी
चीनले आफूले विकास गरेको खोप कम विकसित मुलुकहरूलाई ‘उचित मूल्य’ मा दिने बताएको छ जस कारण उसले विकास गरेको खोप विश्वका धेरै मानिसहरूले प्राप्त गर्ने सम्भावना छ।
यसै महिना यूएईले तेस्रो चरणको परीक्षणमा ८६ प्रतिशत प्रभावकारी भएको भन्दै साइनोफार्मले विकास गरेको खोपको प्रयोग सुरु गरेको थियो।
बाहरेनले पनि यही खोप सार्वजनिक प्रयोग गरेको थियो। साइनोफार्मले विकास गरेको खोपलाई चीनले स्वीकृत गरेको केही घण्टामै पाकिस्तानले १२ लाख मात्रा खरिद गर्ने घोषणा गरेको छ।