Prakash Adhikari January 1, 2021

पोखरा(कास्की), १६ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान बताउने सबैभन्दा ठूलो दायित्व नेपाली कांग्रेसको भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताउनुभएको हो ।

उहााले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता भएकाले अलमलमा नपर्न आग्रह गर्दै भन्नुभयो, फेरि सरकारमा जान पाइन्थ्यो भनेर सपना नदेखे हुन्छ । ‘चुनाव हुने परिस्थिति पनि छैन, त्यो मनसाय पनि छैन । ‘संसद पुनर्स्थापनाले नेपाललाई विग्रहबाट बचाउँछ, शक्ति केन्द्रको अखडाबाट बचाउँछ ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले अहिलेको प्रथम कर्तव्य नै नेपाली जनताले साढे सात दशकको अथक संघर्ष र बलिदानबाट ल्याएको संविधानसभाले बनाएको संविधान बचाउनु रहेको उल्लेख गर्दै भन्नुभयो,अहिले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र संविधान बचाउने सबैभन्दा ठूलो दायित्व कांग्रेसमा रहेको छ। विधि र कानूनको शासनको कुरा लोकतन्त्रवादीले मात्र गर्छ । अधिनायकवादी तानाशाहहरुले आदेश र सनकको भरमा शासन चलाउछन् ।

संसद विघटन गरेर केपी शर्मा ओलीले जनमतलाई सडकमा फालिदिएको र म शासक हुँ भनेको देखाएको आरोप लगाउदै कांग्रेसका वरिष्ठ नेता पौडेलले भन्नुभयो संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार छैन। आज एक जना नेताले जनताको सार्वभौमिकता केही होइन, मै विशेष अधिकार सम्पन्न व्यक्ति भन्न पाइन्छ ?’

कांग्रेस नेता पौडेलले अगाडि भन्नुभयो, ‘लोकतन्त्रमा त बराबरीका बीचमा १, २, ३ नम्बर हुने हो । बराबरीका बीचमा १ नम्बर हो प्रधानमन्त्री तर सर्बेसर्बा होइन । सर्वशक्तिमान त तानाशाह हुन्छ । मुखमा कानुन चलाउँछ । केपी ओलीको मुखमा कानुन छ ?’

तर प्रधानमन्त्रीको कदमबारे नेपाली कांग्रेस अलमलमा पर्न नहुने बताउदै नेता पौडेलले प्रश्न गर्नुभयो ‘संसद पुनर्स्थापना पनि नहुने, चुनाव पनि नहुने अवस्था आयो भने के हुन्छ ?’

पार्टीमा छलफल हुँदा सभापतिले चुनाव नगरेर केपी ओली नेपालमा कहाँ बस्न सक्छ र ? भनेको प्रसंग उठाउदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘जुनबेला ओलीलाई बगाउने आँधीबेहरी आउला, त्यो आँधीबेहरीले तपाईंलाई पनि बगायो भने के गर्नुहुन्छ ?’

उहाँले पार्टीभित्र एकमत हुनका लागि पनि एकताका आधार संविधान र लोकतन्त्र भएको बताउनुभयो।

‘म त कार्यसमितिमै यो कुरा भनिराखेको छ, पर्सी पनि भन्छु। यो पार्टी एकमत भएर जानुपर्छ, कोशिश गर्छु म एकमत भएर जानलाई, तर एकताको आधार यो संविधान हो, पो लोकतन्त्र हो,’ उहाँले भन्नुभयो।

लोकतन्त्रको रक्षामा जो जो एक हुन्छ त्यो सँग एक हुने भन्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिप्रतिलक्षित गर्दै भन्नुभयो, ‘जो भित्रभित्र के के मिलाउने भन्छ नि, सिक्वेन्स मिलाएर, त्यो बेर नहुन सक्छ।’

उहाँले पार्टीमा कम्युनिस्टसँग मिल्नु हुँदैन भन्ने आवाज उठाउनेलाई लोकतन्त्र, दीगो शान्ति, जनताको सुख र विकासको लागि कम्युनिस्टसँग मिल्दा कांग्रेसलाई घाटा नभएको बतानुभयो । उहाँले सोध्नुभयो, ‘कम्युनिस्टसँग मिल्दा कांग्रेसलाई कहाँ बिग्रियो ? २०४६ सालमा गणेशमान सिंहले तिमीहरु वाम मोर्चा बनाएर आऊ र मिलेर पञ्चायत फाल्दिऊँ नभनेको भए, संयुक्त संघर्ष नभएको भए पञ्चायत जान्थ्यो ?’

वरिष्ठ नेता पौडेलले भन्नुभयो ‘२०४७ सालको आन्दोलनले हामीलाई त सत्तामा पुर्‍याएको थियो । २०६२ मा ज्ञानेन्द्रको तानाशाही सरकार आयो र संयुक्त संघर्ष भयो । त्यसको परिवर्तनबाट त्यो बेला हाम्रै सभापति प्रधानमन्त्री बन्नुभयो नि । अनि कम्युनिस्टसँग मिल्नेबित्तिकै सर्वनाश भन्ने हुन्छ ?’

आत्मविश्वास नभएको र नैतिक शक्ति नभएकाहरुले मात्र कम्युनिस्टसँग मिल्न नहुने कुरा गर्ने पौडेलको भनाइ थियो । ‘एउटा आत्मविश्वास नभएको मान्छेले त्यो भन्छ, अर्को दरबारपरस्त मान्छेले त्यसो भन्छ,’ उहाँले भन्नुभयाो ।

नेपाली कांग्रेसमा राजतन्त्र फालेर गल्ती भयो कि भन्नेहरु पनि रहेको बताउदै नेता पौडेलले सोध्नुभयो ‘बीपीले ल्याएको मेलमिलापको सबैभन्दा विरोधी को थियो ? त्यो दरबार थियो । त्यही दरबार होइन गिरिजाप्रसादलाई कोच्ने ?’

कांग्रेसमाथि निरन्तर खनिने र मिल्न पर्‍यो भन्ने राजालाई आजित भएर नेपाली कांग्रेसले लौ जा भनेर फालिदिएको बताउदै नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले अहिले लोकतन्त्र जोगाउन ठूलो साहस देखाउनुपर्ने भन्दै उनले हर किसिमको संघर्षका लागि तयार रहन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको थियो ।

 

 

 

Share Now

Leave a comment.