Prakash Adhikari February 3, 2018

दुबाई(संयुक्त अरब इमिरेट्स), १९ माघ ।आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अघि नेपालले युएई अभ्यास भ्रमण अन्तर्गत तेश्रो खेलमा हार बेहोरेको छ। अघिल्लो २ खेलमा युएई ‘ए’ लाई पराजित गरेको नेपालले तेश्रो खेलमा समान प्रतिद्वन्द्वीसंग कमजोर ब्याटिंग प्रदर्शन गर्यो। नेपाली टिम डिभिजन-२ खेल्न युएईबाटै फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्नेछ।

नेपालको कमजोर ब्याटिंग
टस जितेर आईसीसी एकेडेमी मैदानमा पहिले ब्याटिंग गर्दै युएई ‘ए’ ले दिएको २१६ रनको लक्ष्य नेपालले पछ्याएको थियो ।

सुरुवात देखि विकेट गुमाएको नेपालले ओपनर दिलिप नाथलाई खाता नखोल्दै गुमाउन पुग्यो। लगतै शरद भेसावकर पनि व्यक्तिगत १ रन जोडेर आउट हुँदा नेपालले १२ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो।

त्यसपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले ब्याटिंग सम्हाल्ने प्रयास गरे तर अघिल्लो खेलका शतकधारी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १० औं ओभरमा २४ रन बनाएर आउट हुँदा नेपाल पुनः समस्यामा देखियो। ४८/३ को अवस्थामा पुगेको इनिंग अघि बढाउने पारस खड्का र दिपेन्द्रले अघि बढाउन खोजे तर पारस ४१ रन बनाएर आउट हुन पुग्दा नेपाल १८ औं ओभरमा ८६/४ को अवस्थामा पुग्यो।

नेपालको विकेट गुमाउने शिलशिला तोडिएन र दिपेन्द्र २६ रन बनाएर बोल्ड आउट हुन पुग्दा नेपालको स्कोर २२ औं ओभर पुग्दा १०१/५ पुग्यो। त्यसपछि ब्याटिंग गर्न आएका अनिल शाहले पनि क्रिजमा लामो समय टिकाउन सकेनन् र २१ रनमा स्टम्प आउट भए। आरिफ शेखले पनि १९ रन बनाएर विकेट गुमाएपछि तल्लो क्रमले नेपालको डुंगा पार गर्न सकेनन्।

फलस्वरुप ३८.५ ओभरमा नेपालले १५१ रनमै सबै विकेट गुमाउन पुग्यो र ६४ रनको हार बेहोर्न बाध्य भयो।

युएई ‘ए’ को इनिंग

टस जित्दै घरेलु टोलि युएई “ए” ले पहिले ब्याटिंग रोजेको थियो। पहिले ब्याटिंग गर्न उत्रिएको युएई “ए”का लागि चिराग सुरीले ८५ रन बनाउन अघि सुरुवातका केहि विकेट सस्तैमा गुमाएको थियो। १०२ बल खेलेका सुरीले व्यक्तिगत ८५ रन जोड्दै घरेलु टोलिलाई सम्मानजनक स्कोरसम्म पुर्याए। चिराग सुरी सन् २०१७ को आईपिएल क्रिकेटमा गुजरात लायन्सको टिमका सदस्य समेत थिए।

ललित भण्डारीले(१०-०-४६-२) सुरुवातमा उत्कृस्ट बलिंग गर्दै दुवै ओपनर फहद नवाज १७ (३२) र खलिद साह ५(१६) लाई सस्तैमा पभेलियनको बाटो देखाउंदा एक समय युएई “ए” संकटमा थियो। तर पछिल्लो क्रमका ब्याट्सम्यानहरुले चिराग सुरीसंग साझेदारी गर्दै महत्वपूर्ण रन जोडेपछि घरेलु टोलिले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउंदै २१५ रन जोड्न सफल भयो।

युएई “ए” का लागि अलि मिर्जाले अविजित ४२ तथा अतिरुर रहमानले ३३ रनको व्यक्तिगत योगदान गरे।

नेपाली टोलिको बलिंगतर्फ जन्मदिन मनाईरहेका सोमपाल कामीले सर्वाधिक ३ विकेट हात पारे। १० ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ५६ रन खर्चेर ३ विकेट लिए। यस्तै ललित भण्डारीले २ तथा पारस खड्का, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान १-१ विकेट हात पारे।

अभ्यास टुर पछि नेपाली टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम
पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

Share Now

Leave a comment.