सातदोबाटो( ललितपुर), ५ फागुन । प्रतियोगिताका दुई खेल बाँकी रहदै सशस्त्र प्रहरीको विभागीय टिम महिला फुटबल लिग च्याम्पियन घोषित भएको छ । दोस्रो स्थानमा रहेको नेपाली सेनाको विभागीय टिमलाई नेपाल प्रहरीको विभागीय टिमले बराबरीमै रोकेपछि एपिएफको महिला लिगको उपाधि सुनिश्चित भएको हो ।
लिगमा एपीएफ ३० अंकसहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नेपाल आर्मीले त्यस पहिले २६ अंक हासिल गरेको थियो । उसले दुई खेल जितेमा एपीएफको बराबरीमा पुग्न सक्ने संभावना थियो । तर नेपाल प्रहरीसंग बराबरीमा परेर अंक बाँडन परेपछि उसको सपना चकनाचूर भयो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मी र पुलिस क्लबले १–१ गोल गरेका थिए ।
पहिलो गोल पुलिसले गरेको थियो। अमृता जैसीले गोल गर्दै पुलिसलाई १–० को अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यसपछि कुनै गोल भएन र दुवै टोलीले अंक बाँडे।
जारी लिगमा आर्मीले अब १ खेल खेल्न बाँकी छ। एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्दै छ। अन्तिम खेल एपीएफले आर्मीसँग खेल्नेछ।


















