Prakash Adhikari February 22, 2021

 

काठमाडौं, १० फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा भएका बहसका नोट सोमवारसम्म इजलासमा बुझाइने र मङ्गलवार यो मुद्दा पेसीमा तोकिने अधिकारीहरूले बताएका छन्।

यसअघि गत शुक्रवार एमिकस क्युरीको बहस टुङ्गिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फाल्गुन ११ गतेबाट मुद्दालाई हेर्दाहेर्दैमा राखिने बताउनुभएको थियो।

बहस नोट प्राप्त भइसकेपछि बाँकी प्रक्रिया इजलासले नै तोक्ने गर्छ। बहस नोटहरू प्राप्त भएपछि त्यसको अध्ययन गर्ने र फैसलाका बारेमा छलफलको चरण प्रारम्भ हुने बताइन्छ।

“छलफल त्यसै दिन निष्कर्षमा पुग्यो भने त्यसै दिन निर्णय हुनसक्छ। तर छलफल धेरै भयो, थप अध्ययन गर्नुपर्‍यो भने निर्णय सुनाउनका लागि इजलासले मिति तोक्न पनि सक्छ,” सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिनुभएको छ।

हेर्दाहेर्दैको अवस्थामा रहेको मुद्दाको कारबाहीलाई प्राथमिकता दिइने र उक्त मुद्दा नटुङ्गिएसम्म त्योभन्दा तल रहेका अन्य मुद्दा अहिलेको इजलासले नहेर्ने अधिकारीहरू बताउँछन्।

पौष ५ गते गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसविरुद्ध १३ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रस्तुत भएका थिए।

 

Share Now

Leave a comment.