उमाकान्त खनाल /बीबीसी न्यूज नेपाली
काठमाडौं, १७ फागुन । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको ‘चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’को शिलान्यास गर्नुभएको छ।
दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा बनाउने भनिएको पार्कको चर्चा शुरू भएको तीन वर्षभन्दा बढी भइसकेको छ।
दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई प्रम ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको गत वर्षको बैठकले विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न दिने निर्णय गरेको हो।
उक्त बैठकले पार्क निर्माण गर्नका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको थियो।
पार्कको अवस्थिति
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार दमक नगरपालिकाको दक्षिणमा वार्ड नं १०, कमल गाउँपालिका वार्ड नं ७ तथा गौरादह नगरपालिका वार्ड नं ५ को केही भाग जोडेर प्रस्तावित पार्क बन्न लागेको हो।
अहिले अधिग्रहण भइसकेको करिब नौ सय ४२ बिघा जमिनको अधिकांश भागमा जङ्गल थियो।
रतुवा खोलाले काटेको जमिनलाई खेतीयोग्य बनाई केही स्थानीयवासीले भोग चलन गर्दै आएका छन्।
पार्क निर्माण गर्नका लागि करिब २१ सय बिघा चाहिनेमा अन्य जग्गाको व्यवस्था गर्ने काम भइरहेको ओलीले जानकारी दिनुभएको छ।

चिनियाँ टोली
सन् २०१७ मा चीनबाट एउटा टोली आएर उक्त जग्गा अवलोकन गरेको थियो। तर पार्क निर्माणको कामले गति लिएन।
पहिलो चरणमा ६४ अर्ब रुपैयाँको काम
पार्कका लागि पहिलो चरणमा ७ सय बिघा जमिनमा ६४ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई लगानी गर्नका लागि बोर्डले स्वीकृति दिएको थियो।
पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ(पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृति दिएको लगानी बोर्डले जनाएको छ।
पहिलो चरणको काम २०७६ असोज महिनादेखि थालिने बताइएको थियो।
पहिलो चरणको कामपछि थप जग्गामा अरू कामका लागि ३ खर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको थियो।
उद्योगको प्रकृति
औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताउनुभएको छ।
उहाँका अनुसार चीनमा भएका सवारीसाधन, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरू नेपाल आउने छन्।

एक किलोमिटर चौडाइ र लम्बाइ नौ किलोमिटर भएको क्षेत्रमा पार्क बन्ने बताइएको छ।
ूपहिलो चरणको कामका लागि कुनै बाधा अवरोध छैन। बीचमा पर्ने रतुवा खोलालाई संरक्षण गर्दै पार्कको निर्माण हुन्छ।ू बस्नेतले भन्नुभयो, ूनजिकको कोलकाता बन्दरगाहमार्फत् अन्य मुलुकमा सामान निर्यात गर्नका लागि चीनले स्थान खोजिरहेको थियो।ू
उनका अनुसार दश वर्ष पार्क निर्माणको अवधि र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्नेछ।
पार्क निर्माणका लागि उपलब्ध गराइएको जमिनबाहेक नेपालको थप लगानी नहुने बस्नेतले बताउनुभएको छ।
निर्माणको गति र आशङ्का
विकास निर्माणका कामले गति लिन नसकिरहेको अवस्थामा उक्त पार्क निर्माणको कामले गति लिन सक्ने कुरामा आशङ्का व्याप्त छ।
स्थानीय तहका नेतृत्व समयमा निर्माण हुने कुरामा शङ्का व्यक्त गर्छन्।
दमक नगरपालिकाका प्रमुख ओलीले भने, ‘नेपाली ठेकेदार प्रयोग गरेर हो भने त शङ्का गर्नुपर्ने ठाउँ छ। तर चिनियाँ कम्पनी नै बनाउने जिम्मा लियो भने समयमै बन्ला।’
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले पनि निर्माणकै विषयमा आशङ्का रहेको बताउनुभयो।
उहाँले नेपालका ठेकेदारले समयमा काम गर्न नसकेको बताउँदै उनीहरूको भरमा काम गर्न दिने हो भने धेरै समय लाग्ने बताउनुभयो।
काफ्लेले भन्नुभयो, ‘यो विषयमा लगानी बोर्ड तथा सरकारले विचार पुर्याउला।’
रोजगारी सिर्जनाको आशा
पार्क निर्माण भएको खण्डमा रोजगारीको अवसर सिर्जना गर्ने थलो बन्ने आशा स्थानीय नेतृत्वले गरेका छन्।
ओलीले पार्क निर्माणको अवधि तथा निर्माण भइसकेर सञ्चालनका बेला हजारौँले रोजगारी पाउने आशा व्यक्त गर्नुभएको छ।
‘यो एउटा अवसर हो। दमक त स्थान मात्र हो। अवसर सबैका लागि हुन्छ।’, उहाँले भन्नुभयो ‘रोजगारी नपाएकाहरूलाई राम्रो अवसर बन्नेछ। यहाँका उत्पादन विश्व बजारमा पुर्याउने हाम्रो प्रयत्न रहनेछ।’
कमल गाउँपालिकाकी काफ्लेले स्थानीयवासीको जीवनस्तर उठाउनका लागि राम्रो थलो बन्ने आशा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,’यो सिङ्गो देशलाई नै फाइदा दिने थलो हुन्छ। रोजगारीको प्रशस्त सम्भावना हुनेछ।’


















