Prakash Adhikari March 3, 2021

 

टोकिया(जापान), १९ फागुन (बीबीसी) । जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गर्नुभएको छ।

उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।

‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्’, माएजावाले ट्वीटरमा राखिएको भिडिओमा भन्नुभएको छ । उहाँले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राख्नुभएको छ।

उहाँले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निःशुल्क हुने पनि उल्लेख गर्नुभएको छ ।

डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।

उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू ‘जुनसुकै गतिविधि’ मा भए पनि उनीहरूले ‘अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ’, र ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उहाँले भन्नुभएको छ।

‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ’, उहाँले थप्नुभएको छ।

फेशन दुनियाँका ती धनाढय र कला संकलकले यात्राका लागि यसअघि आफूले ‘कलाकारहरू’लाई आमन्त्रण गर्न चाहेको बताउनुभएको थियो।

तर अब भने ‘यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिने’ उहाँले बताउनुभएको छ।

‘यदि तपाईँले आफूलाई कलाकारका रुपमा हेर्नुहुन्छ भने तपाईँ कलाकार नै हो’, उहाँले भन्नुभएको छ।

गत वर्ष, उक्त यात्रामा आफूसँग समावेश हुनका लागि उहाँले नयाँ केटीसाथीको पनि खोजी गरेका गर्नुभएको थियो तर पछि उहाँले त्यो योजना रद्द गर्नुभयो।

सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो।

अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिर्नुभयो भन्ने खुलाइएको छैन। तर मस्कका अनुसार त्यो ूधेरै ठूलो रकमू थियो।

सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ।

 

Share Now

Leave a comment.