फ्रान्सिस् माओ / बीबीसी न्यूज, सिड्नी
सिड्नी(अष्ट्रेलिया), १९ फागुन(बीबीसी) । दुई साताअघि एक पूर्व राजनीतिक सल्लाहकारले आफू संसद् भवनभित्रै बलात्कृत भएको बताएको घटनाले अस्ट्रेलियालाई स्तब्ध तुल्याइदिएको थियो।
ब्रिटनी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले आक्रमण गरेको बताउनुभएको थियो।
उहाँले सन् २०१९ मा आफूसँगै सरकारी मन्त्रीको कार्यालयमा सत्ताधारी लिबरल पार्टीका सल्लाहकारका रूपमा कार्यरत ती व्यक्तिले बलात्कार गरेको बताउनुभयो ।
हिगिन्सले आफूमाथि भएको आक्रमणबारे बताएपछि अस्ट्रेलियाको राजनीतिमा रहेको भनिएको यौन हिंसा र दुर्व्यवहारबारे आफ्नो अनभुव सार्वजनिक गर्न अरू महिलाहरू अगाडि आएका छन्।
त्यसमध्ये सबैभन्दा विस्फोटक घटना सन् १९८८ मा भएको भनिएको बलात्कार हो। जसमा नाम नखुलाइएका एकजना मन्त्री आरोपित बन्नुभएको छ।
प्रधानमन्त्री स्कट मोरिसनले ती मन्त्रीले बलात्कारको आरोप अस्वीकार गरेको सोमवार बताउनुभएको छ।
उहाँले उक्त घटनाबारे अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
तर न्यू साउथ वेल्स राज्यको प्रहरीले पर्याप्त प्रमाणको अभाव रहेको भन्दै मङ्गलवार त्यस विषयमा अनुसन्धान बन्द गरेको छ।
एकजना विपक्षी सांसद विरुद्धको बलात्कारको अभियोग सम्बन्धी घटना पनि अधिकारीहरू समक्ष पठाइएको छ।
यस्ता आरोपहरूको सङ्ख्या बढी रहँदा त्यस सम्बन्धी उठेका प्रश्नहरूको जबाफ मोरिसन सरकारले दिनुपर्ने सार्वजनिक दबाब पनि बढिरहेको छ।
ब्रिटनी हिगिन्सको आरोप
उहाँ २४ वर्षकी हुनुहुन्थ्यो। नयाँ जागिरको केही हप्तामात्र भएको थियो। सन् २०१९ को मार्च महिनामा एकजना वरिष्ठ सहकर्मीले उहाँलाई बाहिर रात्रिकालीन घुमघामपछि संसद् भवन लग्नुभयो।
धेरै मदिरा पिएकाले हिंगिन्स मन्त्रीको कार्यालयमा निदाउनुभयो। उहाँका अनुसार ब्युँझिएपछि पुरुष साथीले यौन आक्रमण गरेको जानकारी भयो।

तर यौन आक्रमणको आरोपमा नभइ सुरक्षा कानुन अवज्ञा गर्दै अबेर राती मन्त्रीको कार्यालयमा गएको भन्ने कारण देखाएर ती व्यक्तिलाई केही दिनपछि बर्खास्त गरियो।
यसैबीच हिगिन्सले तत्कालीन प्रतिरक्षा उद्योग मामिला मन्त्री लिन्डा रेनोल्डसलाई आफूमाथि यौन हमला भएको बताउनुभएको थियो।
कुराकानी त्यही कोठामा भएको थियो जहाँ हिंगिन्सले आफू बलात्कृत भएको बताउनुभएको थियो। मन्त्रीले उहाँलाई साथ दिने वचन दिँदै प्रहरीमा उजुरी गर्न सल्लाह दिनुभयो।
तर हिगिन्सले आफूले जागिर गुमाउन सक्ने दबाव महसुस गरेको र लिबरल पार्टीले आफूलाई ‘चुप लगाएको अनुभव भएको’ बताउनुभयो। तर जब ज्यानुअरी महिनामा प्रधानमन्त्री मोरिसनले यौन हिंसाका शिकार भएकाहरूको पक्षमा आफूलाई प्रस्तुत गरिरहेको तस्बिर देखेपछि आफूले बेहोरेको घटनाबारे बोल्ने निधो गरेको उहाँले सुनाउनुभयो।
देशको अभिभावक चाहियो
हिगिन्सले घटनाबारे मुख खोलेको एक दिनपछि प्रधानमन्त्री मोरिसनले दुई वर्षअघि सरकारले उहाँको गुनासोप्रति गरेको व्यवहारलाई लिएर क्षमा माग्नुभयो।
उहाँले संसद्मा काम गर्ने संस्कार र राजनीतिक कर्मचारीकालागि उपलब्ध सहायताको व्यवस्थाका सम्बन्धमा अनुसन्धान गर्ने वाचा पनि गर्नुभयो।
तर आफ्नी श्रीमतिले दुई छोरीहरूकाबारे सोच्न भनेपछि आफूले हिगिन्सको घटनालाई राम्ररी बुझ्न सकेको भन्ने खाले अभिव्यक्ति दिएपछि प्रधानमन्त्री सार्वजनिक रूपमा आलोचनाको निशानामा पर्नुभएको छ।
‘उनले मलाई भनिन्’ ‘तपाईँले यसबारे एकजना बुवाको रूपमा सोच्नुपर्छ। हाम्री छोरीहरूमाथि त्यस्तै भएको भए तपाईँले के होस् भन्ने चाहनुहुन्थ्यो ?’ उहाँले संवाददाताहरूलाई भन्नुभएको थियो।
उक्त मुद्दाका सम्बन्धमा प्रधानमन्त्रीले उहाँको बुझाइको रूपमा गरेको प्रस्तुतीलाई खासगरी महिलाहरूले भर्त्सना गरेका छन्।

प्रधानमन्त्रीका साथ हिगिन्स
के उनले हिगिन्सको खराब अनुभवलाई गम्भीरतापूर्वक लिनका लागि उनलाई कसैकी छोरीको रूपमा सोच्न आवश्यक थियो ? उनीहरूले प्रश्न गरिरहेका छन्।
प्रधानमन्त्री र उहाँका मन्त्रीहरूमाथि प्रश्नहरूबाट जोगिन खोजेको आरोप पनि लागिरहेको छ।
हिगिन्सपछि चारजना अन्य महिलाले पनि स्थानीय सञ्चार माध्यममा आफूविरुद्ध सोही व्यक्तिले यौन हिंसा वा दुर्व्यवहार गरेको बताएका छन्।
एकजना महिलाले सन् २०२० मा रातीको खाना र मदिरा खाएपछि ती पुरुषले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।
उठेका प्रश्नहरू र प्रधानमन्त्रीको प्रतिवद्धता
उनले द अस्ट्रेलियन समाचारपत्रलाई भनेकी छन्, ‘यदि सन् २०१९ मा भएको घटनाका सम्बन्धमा सरकारले कदम उठाएको भए सन् २०२० मा मसँग त्यस्तो हुँदैनथ्यो।’
निर्वाचन स्वयंसेविका रहेकी अर्की महिलाले पनि सन् २०१६ मा रात्रीकालिन भ्रमण, नाइट आउट, मा गएका बेला ती पुरुषलेआफूलाई बलात्कार गरेको बताएकी छन्।

प्रधानमन्त्री :अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसदमा रहेको कार्यसंस्कृतिका बारे एक अनुसन्धान सुरु गर्नुभएको छ।
तेस्रो महिलाको आरोप छ, सहकर्मीहरूसँगै सामूहिक रूपमा रातिको खाना खाइरहेका बेला सन् २०१७ मा सोही पुरुषले उनको तिघ्रामा हात लगेका थिए।
समाचार संस्था एबीसीका अनुसार हिगिन्सले बोलेपछि ती महिलाले पनि प्रहरीमा उजुरी गरेकी छन्।
गत बुधवार चौथो महिलाले पनि न्यूजडटकम एयूलाई सन् २०१४ मा आफूलाई ती पुरुषले दबाव दिएर यौन सम्बन्ध राखेको बताएकी छन्।
पछिल्ला १५ दिनमा सार्वजनिक भएका आरोपहरूले अस्ट्रेलियाको राजनीतिक संस्कृतिका साथै लामो समयदेखि चल्दै आएको महिलाहरू विरुद्ध लिङ्गका आधारमा हुने विभेद र स्त्रीद्वेषबारेको बहसलाई लिएर कैयौँ गम्भीर प्रश्नहरू उठाइदिएका छन्।
प्रधानमन्त्री स्वयम्ले संसद् र कार्यस्थलको संस्कृतिमा समस्या रहेको स्वीकार गर्दै त्यसबारे काम गर्नुपर्ने खाँचो औंल्याएका छन्।
तर सरकारले यस विषयमा कदम चाल्नुपर्छ भन्ने माग निरन्तर बढिरहेको छ।


















