क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), २३ फागुन (बीबीसी) । ब्रिटिश राजकुमार ड्यूक अफ ससेक्स ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको जिम्मेवारीबाट पन्छिएको एक वर्षभन्दा लामो समय भएको छ।
अहिले अमेरिकामा बसिरहेका ह्यारी दम्पती आफ्नो राजकीय जिम्मेवारीबाट औपचारिक रूपमा अलग हुनुभएको छ र टेलिभिजनमा एउटा लामो अन्तर्वार्ता दिनुभएको छ।
किन ओप्रा विन्फ्रेसँगको सो अन्तर्वार्ता अहिले चर्चामा छ ? के उहाँहरु दुवैजना अझै राजपरिवारका सदस्य हुनुहुन्छ ?
सन् २०१८ मा ह्यारी र मेगनको विवाह समारोहमा ओप्रा विन्फ्रे सहभागी हुनुहुन्थ्यो र अहिले क्यालिफोर्नियामा पनि उहाँ ह्यारीको परिवार नजिकै बस्ने गरेको बताइन्छ।
यो अन्तर्वार्ता आइतवार अमेरिकामा र सोमवार यूकेमा प्रसारण हुँदैछ।
अन्तर्वार्तामा उहाँहरु अमेरिका सर्नुअघि राजपरिवारका सदस्यको रूपमा लिएको अनुभवको विस्तृत विवरण आउने अनुमान छ।
अहिले सार्वजनिक भएको एउटा अंशमा मेगनले भन्नुभएको छ, ‘मलाई थाहा छैन यो सबै समयपछि पनि राजपरिवारले हाम्रा बारेमा गलत कुराहरू फैलाइरहँदा पनि कसरी उनीहरू हामी चुप लागेर बस्छौँ भनेर सोच्छन्।’
विवादास्पद अन्तर्वार्ता ?
यो अन्तर्वार्ताको प्रसारण समय राजपरिवारका लागि अप्ठेरो अवस्थासँग जुधेको छ।
ह्यारीको हजुरबुबा राजकुमार फिलिप मुटुको उपचारका लागि अस्पतालमा हुनुहुन्छ।
अन्तर्वार्ता प्रसारण हुने समयभन्दा केही दिनअगाडि द टाइम्स समाचारपत्रमा प्रकाशित सामग्रीका अनुसार मेगन राजपरिवारको सक्रिय सदस्य रहँदा उहाँमाथि कामदारमाथि गलत व्यवहार गरेको आरोप लगाइएको छ।

मेगान र ह्यारी
उजुरीकर्ताले उहाँलाई दुईजना व्यक्तिगत सहयोगीलाई घरबाट निकालेको र तेस्रोको आत्मविश्वासलाई गिराउने काम गरेको आरोप लगाएका छन्।
मेगनको प्रवक्ताका अनुसार चरित्रमाथि गरिएको पछिल्लो आक्रमणबाट उहाँ दुःखी हुनुभएको छ।

मेगान र ह्यारी
दरबारले यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
महारानीले आफ्नो व्यक्तिगत विषयमा विरलै सार्वजनिक रूपमा बोल्ने हुँदा यसअघि पनि राजपरिवारका सदस्यहरूले आफ्नो व्यक्तिगत जीवन र पारिवारिक कुराहरू बोल्दा दरबारलाई मन नपरेका उदाहरण छन्।
ह्यारी र मेगनको सुरुदेखि नै ब्रिटिश सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध छैन।
मेगनले हालै मेल अन सन्डे पत्रिकाविरुद्ध आफ्नो पितालाई लेखेको पत्र प्रकाशित गरेर आफ्नो गोपनीयता भङ्ग गरेको भन्ने बारेको मुद्दा जित्नुभएको छ।
राजपरिवारसंगको सम्बन्ध
ह्यारी र मेगन अझै राजपरिवारका सदस्य सदस्य हुनुहुन्छ ? तर सक्रिय हुनुहुन्न।
राजपरिवारका वरिष्ठ सदस्यहरूले महारानीको तर्फबाट केही औपचारिक जिम्मेवारीहरू पूरा गर्नुपर्छ।
ती भनेका विदेश यात्रामा श्रीपेचको प्रतिनिधित्व गर्ने, राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व लिने र अन्य संस्थाहरूलाई सहयोग गर्ने हुन्।
सन् २०२० को सुरुमा ह्यारी र मेगनले यी जिम्मेवारीबाट हट्ने र उत्तर अमेरिकामा सर्ने घोषणा गरे। सो कुराको पुनरावलोकन १२ महिनामा गरिने योजना थियो।

मेगान र ह्यारी
यो वर्षको फेब्रुअरीमा महारानीले वक्तव्य प्रकाशित गर्दै ह्यारी दम्पत्ती सो जिम्मेवारीबाट स्थायी रूपमा मुक्त भएको बताउनुभएको थियो।
दुवै जना महारानीले दिएको पद ड्यूक र डचेज अफ ससेक्सका रूपमा रहिरहनेछन् तर ह्यारी दम्पत्तीलाई सम्बोधन गर्दा रोयल हाइनेस भन्नु पर्दैन।
ह्यारी जन्मिँदा नै राजकुमार भएकाले अझै पनि त्यहीँ रहने र सिंहासनका छैटौँ दाबेदार पनि रहिरहनु हुनेछ।
राजकुमार ह्यारी र मेगनको सम्बन्ध

राजकुमार ह्यारीले सन् २०१६ मा मेगनलाई पहिलो पटक भेट्दा मेघन सुट्स नामक सफल टेलिचलचित्रकी कलाकार हुनुहुन्थ्यो। उहाँहरूको परिचय कुनै साथीले गराइदिएको र त्यसयता परोपकारी कार्यले जोडिएको बताइन्छ।
दुुवैले आपसी सहमतीमा सन् २०१७ मा इङ्गेजमेन्टको घोषणा गर्नुभएको थियो भने सन् २०१८ मा विवाह सम्पन्न भएको थियो। ह्यारी र मेघनको विवाह समारोह यूकेमा मात्रै १ करोड ८० लाख मानिसले टेलिभिजनमा प्रत्यक्ष हेरेका थिए।
राजपरिवारको जिम्मेवारीबाट अलग्गिएपछि उहाँहरू केही समयका लागि क्यानडामा रहनुभयो र त्यसपछि मेगनको आमा भएको क्यालिफोर्नियामा पुग्नुभयो।
सन् २०१९ मा उहाँहरूबाट पहिलो सन्तानको रूपमा आर्चीको जन्म भयो। मेगन अहिले गर्भवती पुनः रहेको बताइन्छ।


















