Prakash Adhikari March 12, 2021

 

काठमाडौं, २८ फागुन । राज्यका प्रभावशाली निकायहरु प्रत्यक्ष आफ्नो मातहत ल्याएर अधिनायकवादी शैलीमा चलेको आरोप खेपिरहनुभएका प्रधानमन्त्री के.पी.ओलीले सर्वोच्च अदालतले ब्युताएको आफ्नो पार्टी नेकपा एमाले सञ्चालनमा पनि अधिनायकवादी शैली अपनाउनुभएको छ ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारपार्टीमा अध्यक्ष आफू र महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारीलाई हटाउनुभएको छ। यद्यपि अध्यक्ष,उपाध्यक्ष,महासचिव र सचिवहरु उहाँसंग पार्टी महाधिवेशन र केन्द्रीय समितिबाट निर्वाचित हुनभएको हो ।

२०६५ साल फागुन ५ देखि १४ गतेसम्म बुटबलमा भएको नेकपा एमालेको आठौ महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–तीन, महासचिव र सचिव–तीनसहित १ सय १५ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग–अध्यक्ष एक र सदस्य १६ तथा लेखापरीक्षण आयोग–१५ सदस्यका लागि निर्वाचन गरेको थियो ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई हटाउने अधिकार नेकपा एमालेको विधानले अध्यक्षलाई दिएको छैन । कसैलाई हटाउन परे अनुशासन कमिटिको छानविन र सिफारिसको आधारमा मात्र हटाउन सकिने प्रावधान रहेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष् ओलीले यस्तो निर्णय सुनाउनुभएको थियो

बैठकले पूर्व माओवादीबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै बैठकले एमालेको महाधिवेशन आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको छ।

आजको बैठक पछि नेकपा एमाले अध्यक्ष ओलीले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिनुभएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल हुनुहुन्थ्यो।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

रोचक कुरा त के छ भने प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुभएका भट्ट र केन्द्रीय समितिमा ल्याइनु भएका प्रधानमन्त्री ओलीको क्याबिनेटका मन्त्रीहरुले आफूलाई निर्वाचित गर्ने नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता त्याग पनि गर्नुभएको छैन र नेकपा एमालेको साधारण सदस्यता पनि लिनुभएको छैन ।

 

Share Now

Leave a comment.