
विण्डहक(नामिबिया), २५ माघ । बिहीबारदेखि नामिबियामा शुरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले नामिबियामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई १ सय ३८ रनमा अलआउट गरेको थियो ।
नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीm पारस खड्का र शरद भेषवाकरले १–१ विकेट हात पारे ।
उता १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका तल्लो क्रमका ब्याट्सम्यान बसन्त रेग्मीले नटआउट २४ रनको आक्रमक पारी खेलेपछि ४ बल बाँकी छँदा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदै नेपालले जित हासिल गरेको थियो ।
नेपालका लागि शरद भेषवाकरले पनि २९ रनको महत्वपूर्ण योगदान दिए ।
खेलमा नेपालका सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल भोलि ओमानसँग खेल्नेछ ।