Prakash Adhikari April 2, 2021

कावासोती, २० चैत (रासस) । गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उहाँले बताउनुभयो । गैँडा गणनाको क्रममा जङ्गली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।

गणनामा खटिएको हात्तीलाई जङ्गली धु्रवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । सोही क्रममा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएको उहाँले बताउनुभयो । घाइते हुनेको सङ्ख्या एकीन नभएको भए पनि कम्तीमा पाँच जना हुनसक्ने उहाँले बताउनुभयो ।

हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।

धु्रवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको प्रमुख उहाँले बताउनुभयो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते भएको उहाँले बताउनुभयो ।

गम्भीर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ र उहाँको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

ध्रुबे नामको जंगली हात्तीले वि.सं. २०६६, ६७, ६८ र ६९ सालमा गरी १३ जनाको ज्यान लिएको थियो।

पछिल्लो समयमा यस्ता गतिविधि नगरेको यो हात्तीले शुक्रबार पुनः मान्छेमाथि आक्रमण गरेको हो।

उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ।

कहिलेबाट सुरू गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गरिने बरालले बताउनुभएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो। हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ।

गैंडा गन्नका लागि गणकहरूले हात्तीकै प्रयोग गर्ने गर्दछन्।

अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*