
काठमाडौं, २६ चैत्र । सुदूरपश्चिम प्रदेश र एपीएफ ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
यसअघि नै लिग चरणका तीन खेलमा जित निकाल्दै सशस्त्र प्रहरीको विभागीय टोलीले चरणको एक खेल बाँकी रहदै फाइनलमा स्थान पक्का गरिसकेको छ।मंगलबार बिहान सम्पन्न खेलमा ललितपुर मेयर्स ११ लाई १० विकेटले पराजित गर्दै एपीएफले लगातार तेश्रो जित हाँसिल गर्दै ६ अंक सहित अंकतालिकाको पहिलो स्थान सुरक्षित गरेको थियो।
बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २ विकेट क्षतिमा १२.३ ओभरमा भेटायो।
सुदूरपश्चिमको लागि मञ्जु बोगटीले सर्वाधिक २६ रन बनाईन् भने रेवती धामी र बिन्दु रावलले समान १७ रन योगदान दिए। सुदूरलाई रोक्ने क्रममा लुम्बिनी प्रदेशकी बलर कृतिका मरासिनीले २ विकेट लिईन्।
यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो। उसको लागि ओपनर लक्ष्मी चौधरीले २६ तथा कप्तान नेरी थापाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिम प्रदेशकी लेग स्पिनर लक्ष्मी साउदले सर्वाधिक ४ विकेट हात पारिन् यस्तै कप्तान रितु कनोजियाले ३ तथा सुनिता लोहार र कविता जोशीले समान १ विकेट हात पारे।
सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा ललितपुर मेयर्स ११ लाई पराजित गरेको थियो भने दोश्रो खेलमा एपीएफसंग पराजित भएको थियो। यस्तै तेश्रो खेलमा पनि उसले प्रदेश १ लाई पराजित बनाएको थियो
प्रतियोगिताको फाइनल खेल शनिवार सुदूरपश्चिम र एपीएफ बीच खेलिनेछ। त्यस अघि लिग चरणको अन्तिम दिनको खेलमा बिहिबार ललितपुर मेयर्स ११ र प्रदेश नम्बर १ तथा लुम्बिनी र एपीएफले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रदेश नम्बर १, शशस्त्र प्रहरी बल( एपीएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स ११ गरि ५ टिमको सहभागिता रहेको छ।