Prakash Adhikari February 11, 2018

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थायीत्व खल्बल्याउने स्वर सुनिन थालेको तर तिनलाई समाजले छेउ पर्न नदिने बताएका छन् ।

नेपाल व्यवस्थापन संघको ३७ औं सम्मेलनको आइतबार राजधानीमा उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

शनिवार मात्रै एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा एउटा गुम्बाको उद्घाटन कार्यक्रममा आफू अहिले उभिएको ठाँउबाट देश र जनताको पक्षमा काम गर्न सकिदैन भन्ने लागेमा फड्को हान्न सक्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्ति पार्टी एकता र केन्द्रदेखि प्रदेश तहसम्म सरकार र संसदका पदहरुको भागवण्डामा देखा परेको मतभेदतर्फ लक्षित भएको धेरैले अनुमान गरेका थिए ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति उनै माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित थियो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै ओलीले नेपाली जनताले स्थायित्व, एकता,सामाजिक न्याय र समृद्धिमा आधारित समाजको निर्माणको परिकल्पना गरेको बताउदै अब बन्ने सरकारले प्रदेश र स्थानीय तहसंग तालमेल गरेर लोकतन्त्रको प्रतिफल जनताको दैलोदैलोमा पुर्याउने दावी गरे ।

उनले नेपालसंग संघीयताको अभ्यास र अनुभव नभएको बताउदै आफ्ने अनुभवबाट सिक्दै परिमार्जित गर्दै अगाडि बढ्नु पर्ने अवस्था रहेको बताए ।

उनले अब प्रदेशहरुका बीचमा र स्थानीय तहहरुका बीचमा पनि नयाँ परिकल्पना र सोंचको, स्रोतको पहिचान र परिचालनको, सुशासन, सेवा प्रवाह र विकासको प्रतिस्पर्धा हुने बताए ।

 

‘संघीय संरचनामा नेपालको आर्थिक सामाजिक विकास’को मूल विषयमा केन्द्रित रहेको नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले अध्यक्ष ओलीले नेपालमा राजनीतिक अधिकारको लडाई र संघर्ष सकिएर तिनको उपलब्धिलाई नयाँ सविधानमा लिपिबद्ध गरिएको बताए ।

उनले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि यसै बर्ष सम्पन्न भएका स्थानीय तह, प्रदेश र संघीय संसदका निर्वाचनको निकै महत्वपूर्ण भएको बताउदै अब समग्र देशको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

भावि प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले लोकतन्त्रप्रति आफ्नो पार्टीको निष्ठा अबिचलित भएको उल्लेख गर्दै अब बन्ने सरकार जनताप्रति उत्तरदायी हुने, राष्टियताप्रति समर्पित, सुशासनप्रति प्रतिबद्ध र जनताका मौलिक हक उपयोगमा दत्तचित्त रहने दावी गरे ।

नेपालका व्यवस्थापकहरुको व्यवसायिक छाता संगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघको अधिवेशनमा पूर्वसचिव कृष्ण ज्ञवाली र अर्थविद् जयन्द्र श्रेष्ठले आर्थिक सामाजिक विकासको व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमाथि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, संयुक्त राष्ट संघीय विकास कार्यक्रम तथा नेपालका लागि संयुक्त राष्ट संघका आवासीय प्रतिनिधि भ्यालोरी जुलियाना,डा.खिमलाल देवकोटा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा,प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगका सचिव वैकुण्ठ अर्याल,राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूव गभर्नर द्धय दीपेन्द्र क्षेत्री र डा. युवराज खतिवडाले टिप्पणी गरेका थिए ।

कार्यक्रममा भारतको पीएचडी चेम्बर अफ कमर्शका सौरभ सन्यालले संघीयतामा भारतको अनुभवका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका व्यवस्थापन संकायका डिन डा. विजय केसीले नेपालको व्यवस्थापन परिदृष्य २०१७ का बारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रमको दोस्रो शत्रमा साधारण सभा हुदैछ भने तेस्रो शत्रमा म्यानेजर अफ द इअर २०१७ र वुमन म्यानेजर रिकग्निसन अवार्ड २०१७ वितरण गरिने कार्यक्रम छ ।

Share Now

Leave a comment.