पोखरा(कास्की), १६ बैशाख । प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्तावको सामना गरिरहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री बनाउनुभएको छ। मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्नुभएको हो।
यसअघि प्रदेश सरकारले युवा तथा खेलकुदसम्बन्धी योजना तथा कार्यक्रम सामाजिक विकास मन्त्रालयमार्फत् गर्दै आएको थियो। प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन हुनुहुन्छ।
युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ।
मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अविश्वास प्रस्ताव ल्याएका छन्। उक्त प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने बताएको थियो।
बिहिबार अविश्वासको प्रस्तावमा छलफल हुँदा जनमोर्चा सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठक छोडेर चरक अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रदेश सभामा गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका शाहीको चरक अस्पतालमा पोजेटिभ रिपोर्ट आएको बताएकोले उहाँलाई सत्तापक्षले उपयोग गरेको आशंका भैरहेको छ ।
तर अस्पतालमा बसेका सांसद शाहीले आफूले पार्टीको ह्वीप अनुसार अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने वक्तब्य दिएपछि मुख्यमन्त्री गुरुड.ले स्वतन्त्र बनेर निर्वाचन जित्नुभएका राजिव गुरु उर्फ दीपक मनाड.ेलाई मन्त्री बनाउनुभएको हो ।


















