काठमाडौं, १६ बैशाख । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ९ सय २८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार संक्रमितमध्ये काठमाडौंका १हजार १ सय २७ जना, ललितपुरका २ सय ५२ जना तथा भक्तपुरका १ सय ८२ जना रहेका छन् । यसरी एकैदिनमा काठमाडौं उपत्यकामा कुल १ हजार ५ सय ६१ जनामा संक्रमण भेटिएको हो ।
काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित रुपन्देहीमा भेटिएका छन् । त्यहाँ ५ सय २८ जना संक्रमित छन भने बाँकेमा ४ सय ८९ जना र कैलालीमा ३ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै संक्रमण भेटिएका उमेर समूहमध्ये २० देखि २९ वर्षका १हजार २ सय६७ जना र ३० देखि ३९ वर्षभित्रका १ हजार २ सय ६० रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।
देशभरमा १३ हजार ५ सय ६० जनाको स्वाब परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको हो ।जसमा १२ हजार ५ सय ९७ आरटि पीसीआर परीक्षण र ९ सय ३६ एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ४ हजार ८ सय३१ जना आरटि पीसीआर परीक्षणका माध्यमबाट तथा ९७ जना एन्टिजेन परीक्षणका माध्यमबाट पत्ता लागेका हुन् ।
मन्त्रालयको सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ८ सय ८८ जना छ । हालसम्म कुल २ लाख ८० हजार १ सय ६७ ले कोरोना जितेका छन् ।
देशभरमा अहिलेसम्म कुल ३ हजार २४ जना संक्रमितले ज्यान गुमाएका छन् भने कुल संक्रमण पुष्टि हुनेको संख्या ३ लाख १७ हजार ५ सय ३० रहेको छ । हाल नेपालमा क्वारेन्टिनमा ५९ जना छन् ।


















