Prakash Adhikari May 8, 2021

लण्डन(संयुक्त अधिराज्य) , २५ वैशाख  । बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी हुनुभएको छ । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी हुनुभएको छ । नेपालीको बाक्लो बस्ती रहेको उक्त बरोमा बिहीबार सम्पन्न निर्वाचनको नतिजा शुक्रबार आएको हो ।

वेलिङटनमा सम्पन्न निर्वाचनमा यहाँका तीन प्रमुख दल कन्जरभेटिभ, लेबर र लिबरल डेमोक्रेटका उमेदवारले भाग लिएका थिए । सबैभन्दा बढी मत प्राप्त गर्ने बेल्वासे सत्तारूढ दल कन्जरभेटिभबाट उम्मेदवार भई ५७८ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी चेरीउडको निर्वाचनमा पनि नेम थापा सत्तारूढ दल कन्जरभेटिभ पार्टीबाटै उम्मेदवार हुनुहुथ्यो भने उहाँले ८९८ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

प्रमुख प्रतिपक्ष दल लेबर पार्टीको वर्चस्व ठानिएका ती दुवै ठाउँमा कन्जरभेटिभबाट उहाँले विजयी हासिल गर्नुभयो । वेल्वासेले जितेको ठाउँमा गत वर्ष पनि नेपाली मूलका बेलायतीले जित्नु भएको थियो भने नेम थापा भने त्यस ठाउँमा जित्ने पहिलो नेपाली मूलको बेलायतीका रुपमा चिनिनुहुन्छ ।

थापा मगर सङ्घ युकेको पूर्वअध्यक्ष तथा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा हाल उपाध्यक्षका रुपमा रही समाजसेवामा तल्लीन हुनुहुन्छ । त्यस्तै वेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष तथा एनआरएनए युकेमा सक्रिय हुनुहुन्छ । वेल्बासेको जन्मस्थान अर्धाखाँचीको भूमिका नगरपालिका खिल्जी हो भने थापाको तनहुँको व्यास नगरपालिका केशवटारमा पर्दछ ।

Share Now

Leave a comment.