Prakash Adhikari May 14, 2021

काठमाडौं, ३१ बैशाख । आजै प्रधानमन्त्री पदको तेस्रो शपथ ग्रहण गरी पद बहाली गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ तर प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट नेता माधवकुमार नेपालका बीच सहयोगीहरुसहित सिंहदरबारमा छलफल शुरु भएको छ ।

वार्ताका लागि नेता नेपालपक्षबाट डा. भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका तर्फबाट उहाँसहित ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ पनि छलफलमा सहभागी हुनुहुन्छ ।

बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता शुरु भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सम्पन्न भएको बताइएको छ ।
बैठकमा नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग बिहिबार क्याप्टेन रामेश्वर थापाको बुढानीलकण्ठमा भएको वार्ताबारे जानकारी दिनुभएको थियो । नेता नेपालले प्रधानमन्त्री ओलीले हिजो आफूसंग पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभएको थियो ।

शुक्रबारको वार्ताबाट पार्टीभित्रको मतभेद अन्त्य गरी कार्य विभाजना गर्ने सम्बन्धमा सुझाव दिन कार्यदल बनाउने तयारी छ ।

Share Now

Leave a comment.