Prakash Adhikari May 17, 2021

 

काठमाडौं, ३ जेठ । प्रजातन्त्रको स्थापना,पुनस्थपना र विकासमा निरन्तर संघर्ष गर्दै आउनुभएका मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने भएको छ ।

यही बैशाख ३० गते जुम प्रविधिमार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले गठन गरेको सिफारिस समितिले प्रजातान्त्रिक आन्दोलनका योद्धाद्धयलाई सम्मान गर्न सिफारिस गरेको थियो ।

समाजका अध्यक्ष डा. केदार नरसिंह के.सी.ले उहाँहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गर्न लागिएको बताउनुभएको छ ।

समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार २०७७को लागि श्रेष्ठलाई र २०७८ का लागि चित्रकारलाई दिने निर्णय गरेको हो ।

समाजले सम्मानित व्यक्तिहरुलाई कदरपत्रसहित जनही २५ हजार रुपियाँ प्रदान गर्ने गरेको छ। समाजले सो सम्मानको लागि १० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।

समाजले आफ्नोस्थापना दिवस जेठ ३ गतेका दिन एक समारोहकाबीच यस्तो सम्मान प्रदान गर्ने कार्यक्रम आयोजना गर्दै आएको थियो । गत बर्ष र यस बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यस्तो कार्यक्रम आयोजना गर्न नसकिएकोले मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी दुबै सम्मान प्रदान गरिने भएको छ ।

वि सं २०७२ सालदेखि प्रदान गरिदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमश कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला,पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसक्नु भएको छ ।

Share Now

Leave a comment.