दुबाई( संयुक्त अरब इमिरेट्स), ३ जेठ (बीबीसी) । सन २०२०का सुरुआतदेखि नै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व पर्यटन बजारलाई थला पारेको बेला संसारको सबैभन्दा व्यस्त मानिने दुवई अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख पल ग्रिफिथले पर्यटन पुनरुत्थानको नयाँ अवधारणा ल्याउनुभएको छ । मानिसहरुको आवत जावत र आर्थिक तथा अन्य सामाजिक गतिविधि बढाउनका लागि कोभिड खोप राहदानी उपयुक्त हुने उहाँको विचार छ ।
दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले भन्नुभयो, ‘कोभिड राहदानीहरू नै अब व्यापक रूपमा वैदेशिक यात्रा पुन निरन्तर गर्ने उपया हो । मलाई लाग्दैन यसको अन्य विकल्प छ।’
डिजिटल प्रणालीहरूका आलोचकहरूले त्यसले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत राखेका छन्।
ग्रिफिथले आफू त्यस्तो दस्ताबेजको पूर्ण समर्थक भएको बताउँदै त्यसलाई ‘अपरिहार्य’ बताउनुभएको छ ।
‘मलाई लाग्छ समस्या खोप राहदानी र त्यसको विभेदको होइन। विश्वव्यापी समतामूलक खोप कार्यक्रम आवश्यकता हो’, उहाँले भन्नुभयो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विश्व यात्रा तथा पर्यटन परिषद् भने खोप राहदानी विरोधी मत राख्नेमध्येका हुन्।
त्यसले ‘दुई तहको समाज’ सिर्जना गर्छ भन्ने यतिखेर धेरैको चिन्ता पाइन्छ।
गत महिना डब्ल्यूएचओका डा. माइक रायनले खोप राहदानीका विषयमा उठ्ने नैतिक र निष्पक्षताको चासो दोहोर्याउनुभएको थियो।
उहाँको भनाइ थियो, ‘पुरै असमान रूपमा विश्वमा खोप वितरण भइरहेका बेला यी कुराबारे सोच्नुपर्छ।’
आर्थिक पीडा
सरकारहरूले लगाइरहेका प्रतिबन्धहरू र यात्रुले गुमाएका आत्मविश्वासका माझ थलिएको उड्डयन क्षेत्र निकै व्यग्रतापूर्वक तङ्ग्रन खोजिरहेको छ।
एयर ट्रान्सपोर्ट कार्य समूहका अनुसार महामारीअघि यस क्षेत्रले विश्वको अर्थतन्त्रमा वार्षिक ३५ खर्ब डलर योगदान पुर्याउँथ्यो।
त्यसले यस क्षेत्रका विश्वका अन्य ठाउँझैँ दुबई विमानस्थलसमेत नराम्ररी थलिन पुग्यो। त्यसका बाबजुद पनि सन् २०२० मा लगातार सातौँ वर्ष दुबई अन्तर्राष्ट्रिय यात्रुको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थल हुन पुग्यो।
सन् २०१४ मा दुबईले लन्डन हिथ्रो विमानस्थललाई उछिनेको थियो।
सन् २०१९ मा अहिलेसम्मकै उच्च ८ करोड ६० लाख भन्दा धेरै मानिसहरूले उक्त विमानस्थल हुँदै यात्रा गरेका थिए।
तर जब कोरोनाभाइरस महामारीका कारण धेरै विमानहरू उड्न पाएनन् त्यो दर ७० प्रतिशतले घटेर गत वर्ष २ करोड ५० लाखभन्दा केही धेरै मात्र रह्यो।
पल ग्रिफिथले त्यो सङ्ख्या बढोस् भन्ने चाहनुभएको छ। उहाँ भन्नुहुन्छ, ‘हामी जोखिम व्यवस्थापनमा जानुपर्छ, जोखिमबाट भाग्ने होइन।’
उहाँ थप्नुहुन्छ, ‘आउजाउ नबढीकन विश्व लामो समय चल्न सक्छ भन्ने मलाई लाग्दैन, सामाजिक र आर्थिक दुवै रूपबाट। तर विश्वभर देशहरू किन निकै अनुदार भइरहेका छन् भन्ने तपाईँ बुझ्न सक्नुहुन्छ। सङ्क्रमण बढ्ने कुरा आफ्नो पोल्टामा परेको कुरा कुनै पनि नेताले चाहने अन्तिम कुरा हो।’

दुबई शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थल
विश्वव्यापी रूपमा लगाइएका लकडाउनका माझ गत वर्ष यूएईको अर्थतन्त्रमा ६.१ प्रतिशतको सङ्कुचन देखा परेको थियो।
ग्रिफिथले त्यहाँको कुल ग्राहस्थ उत्पादन जीडीपीको कम्तीमा ३५ प्रतिशत यात्रा र पर्यटनमा निर्भर रहेकाले त्यसको नाटकीय असरहरू यूएईमा परेको बताउनुभयो।
सुरक्षाका उपाय
सरसफाइ, सामाजिक दूरी र मास्कका विषयबाहेक प्रविधिले समेत कीटाणु फैलन रोक्न सघाइरहेका छन्।
मानिसहरू नभेटीकनै गरिने चेक-इन र अध्यागमन व्यवस्थापनका प्रक्रियामा प्रविधिले भूमिका बढेको छ।
नियम पालनाका विषयमा आफूहरूले ६ हजार सीसीटीभी क्यामेराबाट नजिकबाट निगरानी राखिएको ग्रिफिट्सले बताउनुभयो।
यदि अन्तर्राष्ट्रिय उड्डयनले पुनः गति लिन थालेमा ‘आफ्नामा प्रवेश मापदण्ड कस्तो हुने भन्ने देशहरूले निर्णय गर्न सक्छन् र विमान सेवा र विमानस्थलहरूले त्यसलाई कार्यान्वयन गर्नेछन्’, ग्रिफिथले भन्नुभयो।
‘यदि यी सबै कुराले काम गर्यो र सबै एकजुट भए भने खोप राहदानी निकै, निकै सहज हुनेछ र हामी दस्ताबेजबिनै विश्वभर यात्रा गर्न सक्नेछौँ।’


















