काठमाडौं, ५ जेठ । नेपालमा प्राणघातक कोरोना भाइरसको संंक्रमणबाट विगत २४ घण्टामा थप २ सय ४६ जना बिरामीले जीवन गुमाएका छन् भने थप ८ हजार १सय ७३ जनामा नयाँ सङ्क्रमण देखा परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार नेपालमा कोरोना भाइरसको कारण भएका मृत्यहरुमा एकै दिन पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार अपराह्ण प्रस्तुत गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
सो अवधिमा उपत्यकामा २ हजार ४ सय ८६ जना सङ्क्रमित थपिएका छन्। तीमध्ये भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जना थपिएका हुन्।
गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७ हजार ९ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन्।
मङ्गलवार प्रकाशित विवरणमा मन्त्रालयले ८ हजार २ सय ३ सय जनामा सङ्क्रमण र १ सय ९६ जनाको मृत्यु पुष्टि भएको जनाएको थियो ।