Prakash Adhikari May 21, 2021

 

काठमाडौं, ७ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पनि ६ हजारभन्दा बढी नेपालीको जीवनलिला समाप्त पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार विगत २४ घटामा १ सय ७७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने थप ८ हजार ६ सय ७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

यससँगै यस घातक भाइरसको संक्रमणबाट स्वदेशमा नै जीवन गुमाउने नेपालीहरुको संख्या छ हजार नाघेको छ। अहिलेसम्म नेपालमा ६ हजार २४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ।

मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३ हजार २ सय २६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

‍शुक्रवार काठमाडौं जिल्लामा १ हजार ७ सय ५२ जनामा तथा भक्तपुरमा २ सय ९५ र ललितपुरमा ४ सय जनामा कोभिड १९ पुष्टि भएको हो।

केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७ हजार ८ सय ९० जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि १ लाख १६ हजार १ सय ९२ जनामा सक्रिय सङ्क्रमण छ।

कहाँ छन् सङ्क्रमित ?

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेशनमा र बाँकी जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा २२ हजार १ सय ९३ जना, ललितपुरमा ६ हजार ८ सय ५६ जना र भक्तपुरमा ४ हजार ८ सय ६४ जनामा सक्रिय सङ्क्रमण छ।

गम्भीर समस्या भएका १हजार ७ सय १६ जनालाई आईसीयूमा र ५ सय ११ जनालाई भेन्टिलेटरमा राखेर उपचार उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म ४ लाख ९७ हजार ५२ जनामा कोभिड पुष्टि भएकोमा ३ लाख ७५ हजार ८ सय ३६ जना निको भएको तथ्याङ्क मन्त्रालयले प्रकाशित गरेको छ।

 

Share Now

Leave a comment.