Prakash Adhikari February 15, 2018

काठमाडौं,३ फागुन । राष्टपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् ।

उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको हो ।

यस धारामा संसदमा कुनै एक दलको बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन सहितको बहुमत दावी गर्ने सांसदलाई राष्टपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेकपा एमालेका पार्टी अध्यक्ष एवम् प्रतिनिधिसभामा संसदीय दलका अध्यक्ष ् ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

नेकपा एमालेको हिजो सम्पन्न स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो भने बिहिबार सम्पन्न संसदीय दलको बैठकले सर्वसम्मतिले संसदीय दलको नेतामा निर्वाचित गरेको थियो ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।

संसदमा आफ्नो दलको बहुमत नभएकोले प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्दछ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १ सय २१ र माओवादीका ५३ सदस्यहरु निर्वाचित छन् ।

१ सय ३८ जनाको बहुमत देखाउन पर्ने प्रतिनिधिसभामा एमाले माओवादी गठबन्धनो सदस्य संख्या गरी १सय ६४ पुग्छ ।

 

Share Now

Leave a comment.