काठमाडौं, २७ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ। क्यान कार्यसमितिको हालै बसेको बैठकले सो कार्यविधि पारित गरेको हो।
दुई दशकपछि परिमार्जन गरिएको कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन्। यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु ५ हजार भत्ता पाइन्थ्यो।
यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु ५ हजार र टी २० प्रतियोगितामा रु ३ हजार पाउनेछन्।
खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु ५ सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ। घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु ५ सय भत्ता पाउने क्यानले जनाएको छ।
क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए।
संविधानले संविधानले समान कामका लागि जाति,धर्म,लिंगको आधारमा भेदभाव नगरिने व्यवस्था गरेपनि क्रिकेट एशोसिएसनले महिला खेलाडीलाई एक दिवसीय खेल र अन्तर्राष्ट्रिय टी २० खेलका लागि पनि पारिश्रमिकमा विभेद गरेको छ ।
खेलाडीहरु पुरुष हुन वा महिला सबैले अन्तर्राष्ट्रिय खेल देशकै लागि खेल्ने हुन् र खेल जित्दा दुवैले देशकै प्रतिष्ठा बढाउने हुन् । समान अन्तर्राष्ट्रिय खेलहरुमा पनि महिलाले पाउने मेडल र पुरस्कारको रकम फरक पुरुषले पाउने फरक स्तरको हुँदैन् ।
नेपाली क्रिकटमा पुरुषहरु एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने अवस्थामा पुगे पनि महिला क्रिकेट भने त्यो अवस्थामा पुगेको छैन । यसैले महिला खेलाडीको राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरु धेरै भएर मुलुकले तिनको भत्ता रकम थाम्न नसक्ने अवस्था पनि छैन् । क्यानले यस्तो विभेदकारी नीति किन लियो बुझ्न सकिएको छैन ।


















