
ब्रसेल्स् (बेल्जियम), १ आषाढ(बीबीसी) । ब्रसल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भन्नुभएको छ।
चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको उहाँहरुको बताउनुभएको छ।
नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहेको बताउनुभयो।
तर उहाँले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको पनि उल्लेख गर्नुभयो।
नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो।
कम्युनिस्ट विस्तारको जोखिमसँग जुझ्न दोस्रो विश्व युद्धपछि यसको स्थापना गरिएको थियो।
https://twitter.com/cnni/status/1404629126888185864
पछिल्लो समयमा यसको उद्देश्य र आर्थिक श्रोतबारे नेताहरूले बहस गरिरहँदा गठबन्धनमा केही अप्ठेरा देखिएको थियो।
राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको आर्थिक लगानीप्रति गुनासो गर्दै आफ्ना युरोपेली साझेदारहरूको प्रतिरक्षा गर्ने अमेरिकी प्रतिबद्धतामा प्रश्न उठाएपछि मतभेदहरू चुलिएका थिए।
यो ट्रम्पका उत्तराधिकारी जो बाइडनको पदभार सम्हाले यताको पहिलो नेटो शिखर बैठक हो र नयाँ राष्ट्रपतिले ७२ वर्ष पुरानो गठबन्धनलाई अमेरिकी समर्थन रहिरहने बताउनुभएको छ।
उहाँले अमेरिकी स्वार्थका लागि नेटो महत्त्वपूर्ण रहेको भन्दै गठबन्धन स्थापनासम्बन्धी सन्धिको धारा ५ मा उल्लेख भए अनुसार कुनै पनि आक्रमणबाट एकअर्काको रक्षा गर्नुपर्ने ‘पवित्र दायित्व” सदस्य राष्ट्रहरूको भएको बताउनुभयो।
जिनिभामा बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने शिखर बैठकबारे सोधिएको प्रश्नमा उहाँले पुटिनलाई ‘चतुर प्रतिद्वन्द्वी’ का रूपमा उल्लेख गर्नभयो।
टर्कीका राष्ट्रपतिसँग अमेरिकी राष्ट्रपति बाइडन
अर्को विकासक्रममा नेटोका नेताहरूले अफगानिस्तानमा काबुल विमानस्थललाई सञ्चालन गराइराख्ने निर्णय गर्नुभएको छ। अमेरिका र उसका साझेदारहरूले अफगानिस्तानमा रहेका आफ्ना फौजहरू फिर्ता गराएका छन्।
नेटो सदस्य टर्कीले फौजहरू फर्किएपछि विमानस्थलको सञ्चालन र सुरक्षा आफूले गर्न सक्ने प्रस्ताव राखेको थियो।
नेटोले किन चीनबारे जोड दिइरहेको छ ?
शिखर बैठकपछि जारी गरिएको विज्ञप्तिमा चीनको ुघोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमाु प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ।
त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ।
चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो पकड कायम राखेको छ।
चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो जसमा सक्रिय सेवामा २० लाख भन्दा बढी कार्यरत छन्।
चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटोमा चिन्ताहरू गहिरिँदै गएको पाइन्छ। उसले त्यसलाई सुरक्षा र आफ्ना सदस्य राष्ट्रहरूको लोकतान्त्रिक मूल्यप्रतिको जोखिमका रूपमा हेर्ने गरेको छ।
हालैका वर्षमा अफ्रिकामा सैनिक शिविरहरू बनाउने चिनियाँ गतिविधिलाई लिएर पनि नेटो झस्किएको छ।
नेटो के हो ?
उत्तर एट्लान्टिक सन्धि सङ्गठन पूरा नाम भएको नेटो विश्वको सबैभन्दा शक्तिशाली क्षेत्रीय रक्षा गठबन्धन हो।
यसको स्थापना कम्युनिस्ट विस्तारलाई चुनौती दिन सन् १९४९ मा दोस्रो विश्वयुद्धपछि भएको थियो।
साझेदारहरूबीच सामूहिक प्रतिरक्षामा जोड दिने सिद्धान्तका आधारमा यो गठबन्धन बनेको हो।
सुरुमा १२ सदस्य रहेको नेटोमा हाल सदस्य सङ्ख्या ३० पुगेको छ।