Prakash Adhikari June 22, 2021

 

काठमाडौं, ८ आषाढ । आषाढ १ गते मेलम्ची नदीमा आएको अप्रत्यासित बाढीका कारण मेलम्चीको स्वच्छ पानी खाने राजधानीबासीको रहर मेटन केही समय कुर्नुपर्ने भएको छ ।

हेलम्बु गाँउ पालिकाको वडा नंं १ भेमाथाड.मा गएको पहिरोले थुनिएको बाँध एकैचोटी खुल्दा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका मुहानको संरचनामा पनि ठूलो क्षति पुर्याएका छन् । ती संरचनाहरुको मर्मत संभारकोलागि जाने आयोजनाको मुहानसम्म जाने पुल र सडक पनि भत्केको अवस्था छ । यसैले मनसुन कमजोर नभईकन मेलम्ची आयोजनाको मर्मत संभार सकिने संभावना अत्यन्त कम देखिएको छ ।

राष्ट्रिय निकुञ्जभित्रको जलाधारबाट बग्ने हिमालको काखबाट निसृत मेलम्चीको पानी असार १ को विध्वंसात्मक बाढी आउनुपूर्व बर्षामा पनि सफा हुने बताइन्थ्यो । सानो उपत्यकाको रुपमा रहेको भेमाथाड.मा गएको पहिरो र जमीन भासिने क्रमले अव सो स्थान र त्यसभन्दामुनि मुहानसम्मका पाखाहरुबाट बर्षा होस् वा हिउँद जहिलेसुकै पर्ने पानी वा हिउँमा पनि नदीमा लेदो आउने जोखिम बढेको छ ।

अब मेलम्ची आयोजनाले मुहानको संरचनाको मर्मतमात्र गरेर पुग्नेदेखिदैन मुहानमाथिका जलाधारसंरक्षण, तटबन्ध निर्माण र वृक्षारोपणलाई पनि संगै लैजानुपर्ने देखिन्छ ।

राजधानी काठमाडौंको झण्डै ४ दशकदेखिको स्वच्छ पानी पेटभरी खाने सपना पूरा हुन लागेको समयमा अप्रत्यासित रुपमा आएको बाढीले अब मेलम्चीको पानी खाने दिन पर धकेलिन पुगेको छ । सरकारी अधिकारीहरूले अब बर्खा यामपछि मात्रै वैकल्पिक विधि अपनाएर मेलम्चीको पानी राजधानीमा झार्न सकिने बताएका छन्।

आवश्यक निर्माणका कार्यहरू पूरा भएको भन्दै गएको फाल्गुन १० गतेबाट मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाडौं ल्याइएको थियो। पूर्ण प्राविधिक परीक्षण समाप्त नभएकोले गत मङ्गलवार बिहान प्राविधिक निरीक्षणका लागि सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्नका लागि मुहानबाट पानी ल्याउन रोकिएका थियो । मुहान नथुनेको भए पहिरो र बाढीको लेदोले मेलम्चीको सुरुड. टालिने अवस्था रहेछ । धन्य पशुपतिनाथको कृपाले आयोजनाका प्राविधिकहरुका निरीक्षण गर्ने सद्बुद्धि पलाएछ र आयोजनाका भित्री संरचनाहरु भने जोगिन पुगेका छन् ।

मंगलबार मेलम्चीमा आएको आएको बाढीले अम्बाथानस्थित हेडवर्क्स भनिने व्यवस्थित पानी पसाउन बनाइएको संरचनाको सहतमा भौतिक क्षति पुर्‍याएको छ भने मानवीय क्षति पनि हुन गएको छ । बाढी आउने जानकारी पाएर सुरक्षित स्थानमा सर्ने तरखर गर्दागर्दै कति ठूलो बाढी आउला भन्ने अनुमान गर्न असफल हुँदा ठूलो बाढीमा परेर बेपत्ता भएका ७ जनामध्ये ४ जनाको शव भेटिएको छ।

आयोजनाको क्षति

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार ुहेडवर्क्सु मा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचनाहरू सबै बगेका छन्।

उहाँका अनुसार स्थलगत अवलोकनका लागि जान सकिएको छैन किनभने सबै सडक र पुल बगाएको छ। हेलिकप्टर र ड्रोनको मद्दतले माथिबाट हेर्दा हेडवर्क्सको संरचना आफ्नै ठाउँमा पानीमुनि डुबेको अवस्थामा छ।बायाँपट्टिको रिटेनिङ पर्खाल देखिँदैन। निर्माण व्यवसायी र श्रमिकका शिविर र सामान राख्ने ठाउँ सबै बगाएको छ।

मेलम्ची

मेलम्ची

उहाँले हेडवर्क्स अझै डुबिरहेकाले त्यसमा कति क्षति भयो र त्यसको निर्माणका लागि कति समय र स्रोत आवश्यक पर्छ भन्न नसकिने बताउनुभएको छ।

मेलम्ची बजारबाट २१ किलोमिटर पर रहेको उक्त संरचना पुग्न पार गर्नुपर्ने चारवटा पुल र लगभग आधा सडक बाढीले बगाएको छ।

स्थलगत भ्रमणमा जान नसकिएकाले अहिले क्षतिको प्रारम्भिक अनुमान मात्रै गर्न सकिएको पन्तले बताउनुभएको छ।

दुई दशकको निर्माण समय र ३५ अर्ब रुपैयाँ खर्च गरिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य लगभग सम्पन्न हुन लाग्दा उक्त राष्ट्रिय गौरवको आयोजना प्राकृतिक विपद्को मारमा परेको हो।

केही महिनादेखि आयोजनाले सुरुङको परीक्षण गर्ने क्रममा राजधानीका अधिकांश ठाउँमा पानी वितरण गरिरहेको थियो।

आयोजनाले परीक्षण सम्पन्न गर्ने क्रममा सुरुङलाई बन्द गरेर भित्रको पानीलाई सुन्दरीजलबाट बाहिर फ्याँल्ने र प्राविधिक निरीक्षण गरेर निर्माण कार्यलाई पूर्णता दिने कार्यतालिका बनाएको थियो।

Map: Melamchi

क्षतिको प्रभाव 

दुई महिनामा सम्पन्न हुने भनिएको उक्त कार्यतालिका असारको बाढीसँगै प्रभावित भएको प्रवक्ता पन्तले बताउनुभएको छ।

उहाँका अनुसार अम्बाथानको सुरुङ पनि बालुवाले भरिएको छ र वैकल्पिक पथान्तरण प्रणालीअन्तर्गतको सुरुङ पनि बालुवाले भरिएको छ। अब हाम्रो कार्य तालिकाबमोजिम यी दुई सुरुङलाई सफा गरेर बर्खा यामपछि मात्रै काठमाण्डू उपत्यकामा पानी नियमित गर्ने अवस्था हुन्छ।

उहाँका अनुसार सुरुङ परीक्षण गर्दासम्म हेडवर्क्समा पनि जडानको काम सकेर स्थायी संरचनाबाटै काठमाडौंमा पानी पठाउने तयारी थियो तर त्यो अब प्रभावित हुन गएको छ ।

उहाँका अनुसार रजधानीमा पानी दिन वैकल्पिक रूपमा काम गर्नसक्ने अवस्था पनि छ त्यसका लागि बालुवाले भरिएको हेडवर्क्स डाइभर्शन टनेल सफा गर्नुपर्छ ।

आयोजनाले यथाशीघ्र क्षति भएको बाटो मर्मत गरी त्यसमा बेलीब्रिजहरू राखेर हेडवर्क्स स्थलसम्म पुग्ने प्रयास गरिरहेको र त्यसका लागि नेपाली सेनाको समेत मद्दत मागेको जनाएको छ।

मेलम्चीको बाढी

मेलम्चीको बाढी

“अहिले सबैभन्दा आवश्यक भनेको हेडवर्क्स क्षेत्रमा पुग्नु नै हो। त्यसका लागि प्रवेश मार्ग र पुलहरूको निर्माणको काम हो। यसका लागि हामी नेपाली सेना र सडक विभागसहितका सङ्घसंस्थाको सहयोग लिएर अघि बढ्ने प्रयास हामीले अघि बढाइसकेका छौँ।” प्रवक्ता पन्तले भन्नुभएको छ ।

पुनर्निर्माणका तगारा

नियमित सार्वजनिक खरिद ऐनअन्तर्गत विद्यमान विधिबाट अहिले क्षति भएका संरचनाहरू निर्माण गर्दा महिनौँ लाग्ने अवस्था छ ।

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्बासेका अनुसार बर्खाको स्तर हेर्दा मेलम्ची आयोजनामा भएको क्षति अकल्पनीय स्तरको छ पानीसँगै लेदो समेत मिसिएर आएको हुनाले बढी क्षति भएको हुन सक्छ।

सौभाग्यवश सुरुङ बन्द भएकोले त्यहाँभित्र कुनै पनि किसिमको क्षति हुन पाएन, त्यो राम्रो हो। यस्तो अवस्थामा पनि हेडवर्क्सले त्यसलाई थामेको छ र अडिएर बसेको छ । मेलम्चीलाई तुरुन्तै सञ्चालनमा ल्याउन यी एकदमै सकारात्मक कुरा हुन् ।

उहाँका अनुसार अहिलेको अवस्थामा त्यहाँसम्म पहुँच कायम हुने सडक निर्माण गर्नु एकदमै महत्त्वपूर्ण छ। मलाई लाग्छ हामीले युद्धस्तरमा काम गर्नुपर्ने हुन्छ। बेलीब्रिजहरू भटाभट राख्ने र बाटो निर्माणका लागि द्रुत हिसाबले काम नगर्ने हो भने अझै ढिला हुन सक्छ।

मेलम्ची सुरुङ

मेलम्ची सुरुङ :मेलम्चीको पानी ल्याउन झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण गरिएको छ

उहाँले अम्बाथाननजिकै रहेको पुल नहुँदासम्म त्यहाँ नजिकको सुरुङमा पहुँच कायम गर्न नसकिने बताउँदै दुईवटा पुल बनाउने कुरा उच्च प्राथमिकतामा राखिनुपर्ने बताउनुभएको छ।

“हामीले कुनै तरिकाले पानीलाई बाहिर निकाल्ने काम निरन्तरता दिन पाइयो भने सुन्दरीजलबाटै पहुँच कायम गर्न सकिन्छ। सुरुङबाट हामी सीधै अम्बाथान जान सक्छौँ, हेलिप्टरबाट लिएर गएर बेलीब्रिज राखिदिनेबित्तिकै हाम्रो सीधा पहुँच कायम भइहाल्छ। योजना बनाएर गर्ने हो भने धेरै कामहरू गर्न सकिन्छ।”, पूर्वसचिव बेल्बासेले भन्नुभयो ।

केमा ध्यान दिने ?

उहाँले निर्माणमा खटिएका कामदारहरूले ज्यान गुमाएका र बेपत्ता भएकाले ठेकेदारहरूको मनोबल पनि कमजोर भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

मेलम्ची खानेपानी आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १७ करोड लिटर पानी वितरण गर्न सकिने अधिकारीहरूले बताएका थिए।

केही समयअघि उक्त आयोजनामार्फत् पानी वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विक्रम संवत् २०८१ सम्ममा याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा झार्ने बताउनुभएको थियो।

तर पूर्वसचिव बेल्बासेले अव ती दुई नदीमा संरचनाहरू निर्माण गर्दा जलवायु परिवर्तनले निम्त्याएका विभिन्न किसिमका घटनाक्रमसहित पछिल्लो विपद् र त्यसको क्षतिलाई पनि ध्यान दिनुपर्ने बताउँनुहुन्छ ।

मेलम्चीको आरोह अवरोह

मेलम्ची योजनाको उतारचढाव जान्न केही महत्त्वपूर्ण तथ्य र अङ्क यहाँ प्रस्तुत गरिएको छ।

महत्त्वपूर्ण घटनाक्रम

आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाण्डू आइपुगेको छ।

विसं २०२९ :  खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
विसं २०४१ : मेलम्चीसहित २२ विकल्प पहिचान
विसं २०४९ : याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
विसं २०५५ : मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
विसं २०६४ : नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन ( मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय)
विसं २०७७ फागुन २२ :  मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
विसं २०७७ चैत १५ : मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
विसं २०७७ चैत २०स् राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
धारा
२२ वर्षमा काठमाडौंको धारामा मेलम्चीको पानी
रु ३५ अर्ब भन्दा बढी कुल आयोजना खर्च

  • ३३ % नेपाल सरकार
  • ४६ % एशियाली विकास ब्याङ्क
  • बाँकीअन्य दातृनिकाय
  • रु १.१२ अर्बमुआब्जाका लागि

खर्च र स्रोत
नेपालले कार्यान्वयन गरेको सबभन्दा ठूलो भौतिक पूर्वाधार आयोजनामा मेलम्ची पर्छ। यसको खर्च पनि निकै धेरै रहेको छ।

  • कुल आयोजना खर्च  : ३१२ मिलियन अमेरिकी डलर वा ३५ अर्ब रुपैयाँभन्दा धेरै
  • नेपाल सरकारको लगानी :  कुल खर्चको एक तिहाइ
  • एशियाली विकास ब्याङ्कको लगानी :  कुल खर्चको झन्डै आधा वा ४६ प्रतिशत
  • अन्य दातृसंस्था :  जाइका, नोर्डिक सहायता कोष र ओपेक
  • मुआब्जा खर्च ९आर्थिक वर्ष २०७५-७६ सम्म : १ अर्ब १२ करोड रुपैयाँ
  • सामाजिक उत्थानमा खर्च :  झन्डै ९५ करोड रुपैयाँ

 

मेलम्ची खोलाको काठमाण्डू यात्रा

  • २७ किलोमिटर लामो सुरुङ
  • १७ करोड लिटरपहिलो चरणमा दैनिक पानी आपूर्ति
  • थप ३४ करोड लिटरयाङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर थप्ने योजना
  • रु २५ अर्ब थप लगानी आवश्यक

सुरुङको कहानी

नेपालमा यसअघि लामो सुरुङ निर्माणको अनुभव थिएन।

मेलम्ची आयोजनाको मुख्य पूर्वाधार भनेको झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण रहेको थियो।

  • विसं २०६५ :  सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता, २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु
  • विसं २०६९ : ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का रद्द
  • विसं २०७० : बाँकी सुरुङ निर्माण गर्न इटलीको सीएमसीलाई ठेक्का
  • विसं २०७५ : २५ किमिभन्दा बढी सुरुङ खनिसकेको अवस्था फेरि विभिन्न विवाद, सीएमसीसँगको ठेक्का रद्द
  • विसं २०७६ : सुरुङ र हेडवर्क्सका बाँकी काम गर्न सिनोहाइड्रोसँग ठेक्का सम्झौता
  • विसं २०७७ असार २१ : सुरुङको पहिलो परीक्षण तर ३१ गते दुर्घटना भएपछि स्थगित
  • विसं २०७७ फागुन १० : सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु

 

याङ्ग्री र लार्के

पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ।

तर बढ्दो जनसङ्ख्याका कारण उक्त परिमाण अपुग हुने भएकाले दोस्रो चरणमा मेलम्चीको पानीमा याङ्ग्री र लार्के खोलाका पानी समेत मिसाउने योजना अघि बढाइएको छ।

  • पानीको कुल परिमाण : मेलम्चीको १७ करोडमा याङ्ग्री र लार्केको पनि १७र१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना
  • थप दुईवटा सुरुङ : लार्केबाट याङ्ग्रीमा पानी खसाउन २ किमि लामो अनि याङ्ग्रीबाट मेलम्चीमा पानी खसाउन झन्डै ९.५ किमि लामो अर्को सुरुङ आवश्यक
  • थप लगानी :  अहिलेको अनुमानमा थप २५ अर्ब रुपैयाँ खर्च हुने
  • पहुँच सडक निर्माण :  याङ्ग्री खोलाको आयोजना निर्माणस्थलसम्मको पहुँच मार्ग निर्माणाधीन, सडक निर्माणपश्चात् सुरुङ तथा हेडवर्क्सको ठेक्का लगाउने प्रक्रिया सुरु हुने
    (स्रोत : बीबीसी नेपाली समाचारमा आधारित)

 

Share Now

Leave a comment.