Prakash Adhikari June 22, 2021

काठमाडौं, ८ आषाढ । कोरोना संक्रमित र कोरोनासम्बन्धी स्वास्थ्य समस्याबाट हुने मृत्यु दरमा कमी आउदै गएपछि राजधानी काठमाडौं उपत्यकासंग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला र भारतसंग सीमा जोडिएको महोत्तरी जिल्लाले केही खुकुलो गरी निषेधाज्ञाको अवधि एक हप्ता बढाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो ।

निषेधाज्ञाको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ । यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि आलोपालो माध्यममा सेवा प्रवाह गर्दै आएका राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सञ्चालन गर्ने र बीमा समिति, बीमा कम्पनी, रेमिट र गैरसरकारी संस्थाहरुले भिडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर न्यूनतम जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
विकास निर्माणजन्य सामग्रीका पसल(हार्डवेयर, बिजुली, स्यानिटरी, सिमेन्ट र छड) बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहार वस्तु, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ । सुन पसल, भाँडा पसल, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्ट्स पसल र इलेक्ट्रोनिक पसलहरु आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै निजी सवारी साधन (कार, जीप, भ्यान) बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जना तथा मोटरसाइकल, स्कुटर जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् । सो समयावधिमा सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल बीउबिजन, पुश चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्वाधरूपमा सञ्चालन गर्न पाउने भएका छन् ।

सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, बालुवा गिटीलगायतका सामग्री जिल्लाबाहिर ढुवानी गर्ने सवारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्लाभित्रको हकमा बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म तथा जिल्लाबाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

जिल्लामा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ३७ थपिएसँगै जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

महोत्तरीमा एक साता थप

महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । आजदेखि लागू हुने गरी छैटौँपटक जारी निषेधाज्ञाको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

पछिल्लोपटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसलहरु अब बिहानदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछन् । त्यसैगरी निजी सवारी साधन सञ्चालनमा पनि छुट गरिएको छ । यसअघि अत्यावश्यक सामग्री बेच्ने पसल बिहान तीन घण्टामात्र सञ्चालन हुनसक्ने व्यवस्था थियो ।

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन, भोजभतेर र सार्वजनिक भाडाका सवारी साधन चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा यसपालि गत वैशाख २२ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता क्रमशः पछिल्लो पटकसमेत छैटौँपटक निषेधाज्ञा अवधि थप गरिएको हो । यो थपिएको अवधिमा नेपाल–भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ ।

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । यो महाव्याधिले हालसम्म ८४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये तीन जनाको यही असार महिनामा मृत्यु भएको हो । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म यो महामारीले १८ जनाको मृत्यु भएको थियो ।

यसपालि अहिलेसम्म दुई हजार ६२८ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन् । अहिलेसम्म एक हजार ६१० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा हाल १० जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य ९२४ सङ्क्रमित घरमै स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा रहेका छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।

Share Now

Leave a comment.