Prakash Adhikari June 23, 2021

चामे(मनाड.), ९ आषाढ ।  मनाड.को  सदरमुकाम  चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

पुलमुनि बाढीले बगाएर ल्याएका रूखका मुढा तथा पहिरोले ल्याएका ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले जानकारी दिनुभएको छ ।

थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिम परेको छ ।

मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।

नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। लगातारको वर्षातले पानीको बहाव बढेकाले मनाड.को सदरमुकाम चामे उच्च जोखिममा रहेको प्रजिअ लामिछानेले बताउनुभयो ।

अहिले जिल्ला प्रशासन कार्यालय मनाड.ले चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरिरहेको छ ।

Share Now

Leave a comment.