काठमाडौं, ९ आषाढ । कर फर्छ्यौट आयोगका पूर्व पदाधिकारीहरु लुम्बध्वज महत, चूडामणि शर्मा र उमेश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्धय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
उहाँहरुसंग १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ विगो दाबीसहित भ्रष्टाचारमा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
लामोसमयसम्म कर बक्यौता राखेका उद्योगी,व्यापारी र व्यवसायीहरुको संचित बक्यौता कर असुली गर्न सरकारले अधिकार सम्पन्न कर फस्यौंट आयोग गठन गरेको थियो ।
सो आयोगले लामो समयसम्म अल्झेर बसेको करको ब्याज छुट दिएर कर असुली गरेको थियो ।
उहाँहरुले १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उहाँहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


















