काठमाडौं, ९ आषाढ । नेपालमा आन्तरिक हवाई उडान असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतले नबढ्नेगरी सञ्चालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ।
मन्त्रालयले बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभएको छ।
आन्तरिक उडानका लागि तोकिएका गन्तव्यहरूको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्र प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ।
यसअघि आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएपछि निजी वायुसेवा कम्पनीहरूले कार्यतालिकालाई स्वीकृत गराएर तत्कालै देशभित्रको उडान थाल्न सक्ने अधिकारीहरूले बताएका थिए।
सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताउनुभयो।
नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाडौंको विमानस्थल रहँदै आएको छ।
वायुसेवाका एक सञ्चालकले उडानको सङ्ख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भए पनि क्रमशः त्यो बढ्दै गएको हेर्न आफूहरूले चाहेको प्रतिक्रिया दिनुभएको छ।
सरकारी अधिकारीहरूको भनाई
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि स्वीकृति दिइसकेको छ।
प्रवक्ता क्षेत्रीले भन्नुभयो, “नेपाल सरकारले अब निर्णय गरिसकेको भएकाले उहाँहरूले उडान तालिकाका लागि हामीलाई निवेदन दिनुभयो भने हामी तुरुन्तै अनुमति दिने अवस्थामा छौँ।”
सुरुका दिनमा काठमाडौंबाट लगभग ३० देखि ३५ वटा उडान हुने आफूलाई लागेको बताउँदै उहाँले भन्नुभयो, “वायुसेवाहरूले अब आफ्नो टिकटहरू बेच्नुपर्यो। आन्तरिक तयारी गर्नुपर्यो। सरकारको तर्फबाट उहाँहरूले उडान थाल्न स्वीकृति नै पाइसक्नुभयो भन्दा पनि हुन्छ।”
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले विगतका अनुभवलाई ध्यान दिएर उडानमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्डमा पनि केही परिमार्जन हुनसक्ने बताउनुभयो।
उहाँले भन्नुभयो,”यसबारे पनि केही निर्णय हुन सक्छ। अर्को हप्ताबाट उडान हुन्छ जस्तो मलाई लाग्छ।”
निजी क्षेत्रका वायुसेवा सञ्चालक सङ्घ नेपालका महासचिव आफूहरू उडानका लागि तयार अवस्थामा रहेको र जतिसक्दो चाँडो आन्तरिक उडान सञ्चालन गर्न इच्छुक रहेको जनाउनुभएको छ।
उहाँले भन्नुभयो, “हामीले पहिला पनि स्वास्थ्य मापदण्ड पूरा गरेर उडानहरू सञ्चालन गरेको हुनाले हामी तत्कालै उडानहरू गर्न सक्षम अवस्थामा छौँ।”
पचास प्रतिशत उडान मात्रै गराउने भनेर सीमा नतोकिएको भए उचित हुन्थ्यो भन्ने तर्क गर्दै उहाँले तर आफूहरू सरकारको निर्णय कार्यान्वयन गर्न तयार रहेको जानकारी दिनुभयो।
“अहिले शत प्रतिशत नै भनिएको भए पनि हामीले उडान राख्नेबित्तिकै मानिसहरू उड्न आउने होइनन्। अहिले बजार नभएकाले प्रतिशत तोक्नुभन्दा स्वतन्त्र छोडिदिए हुन्थ्यो भन्ने हाम्रो पहिलेदेखिकै धारणा हो। मागका आधारमा भविष्यमा यसलाई थप विचार गरिनेछ भन्ने हामीले ठानेका छौँ।”
उहाँले एउटा वायुसेवाले राजधानीबाट गन्तव्यमा दुईवटादेखि तीन वटासम्म दैनिक उडान गर्ने आफूलाई लागेको बताउनुभयो।

यसअघि एउटा निजी वायुसेवा बुद्ध एअरका निर्देशक रूपेश जोशीले आगामी साता आफ्नो कम्पनीका विमानहरूले उडान गर्ने अपेक्षा व्यक्त गर्द भन्नुभएको छ, “हामीले हाम्रो कुल उडानको ५० प्रतिशत सुरु गर्न सक्छौँ होला। त्यसो हुँदा लगभग ५५ वटा जति उडान हुन्छन् होला।”
जोशीले यसअघिकै सुरक्षाका मापदण्डहरू लागु गरेर पूर्ण क्षमतामा नै विमानहरू चल्ने बताउनुभयो।
कोरोनाभाइरसको महामारीको दोस्रो लहर देखा परेयता सरकारले वैशाखको तेस्रो साताबाट कार्गो र उद्धार उडानबाहेक सबै किसिमका आन्तरिक उडान बन्द गरेको थियो।
अन्तर्राष्ट्रिय उडानको दायरा विस्तार
सोमावारको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान खोल्नेबाहेक लकडाउनका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय उडानको सङ्ख्या पनि वृद्धि गर्ने निर्णय गरेको थियो।
त्यसमा काठमाडौंबाट दोहामा सातामा चारवटा, इस्तानबुलमा सातामा दुईवटा, दुबईमा सातामा चारवटा र दमाममा सातामा दुईवटा उडान गर्ने भनिएको छ।
त्यसबाहेक कुवेत सिटीमा हप्तामा दुईवटा उडान, मस्कटमा एउटा, क्वालालम्पुरमा चारवटा, सोल तथा टोकियोमा एक(एकवटा उडान गर्ने भनिएको छ।
चीनको छेङ्दु र ग्वाङ्जाओमा हप्ताको दुई दुईवटा उडान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रेषित गरिएको पत्रमा उल्लेख छ।

विमानस्थल
प्राधिकरणका प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय उडान तालिकाका लागि नेपाल वायुसेवा निगम र अरू विदेशी विमानसेवाले निवेदन दिनुपर्ने बताउनुभएको छ।
प्रवक्ता क्षेत्रीले भन्नुभयो, “उहाँहरूले आजभोलिमा नै आवेदन दिनुहुन्छ। हामीहरूले अनुमति दिइहाल्छौँ। अब बल उहाँहरूको पोस्टमा रह्यो जति छिटो गर्नुहुन्छ त्यति चाँडो स्वीकृति पाउनुहुन्छ।”
यसअघि खाडी देशहरू र मलेशियामा रहेका कामदारको सहजताका लागि त्यहाँ नियमित उडानहरू सुरु गर्न सरकारमाथि दबाव बढेको थियो।
नेपाली श्रमिकका प्रमुख गन्तव्य रहेका ती देशबाट लगभग २,००० कामदार उद्धार गर्नुपर्ने अवस्था रहेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुखले बताउनुभएको थियो।
अघिल्लो साता सीसीएमसीको निर्देशक समितिले अन्तर्राष्ट्रिय उडानमाथिको बन्देजलाई थप खुकुलो बनाउन सरकारलाई सिफारिस गरेको थियो।
सन् २०२० मा आन्तरिकतर्फ कुल ६८ हजार वटाभन्दा बढी उडान भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
महामारीका कारण लकडाउनको सामना गर्नुपरेको उक्त वर्षमा वैदेशिक उडानको सङ्ख्या १० हजार २ सय ५० भन्दा बढी थियो।(बीबीसीबाट)


















